जिरोपोइन्ट/ मजदुर नेताका रूपमा चिनिएका मोतीराज सुनुवार गीत लिएर बजारमा आएका छन् ।

‘सुनमाया’ बोलको गीत र भिडियो आइतबार सार्वजनिक भएको छ । प्रदेश नम्बर १ का सभामुख प्रदीपकुमार भण्डारी, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य धर्म निरौला र सङ्गीतकार विजय श्रेष्ठले गीत सार्वजनिक गरे ।

नेपाली लोक भाकामा आधारित गीतमा मोतीराजलाई गायिका अम्विका दवाडीले साथ दिएकी छन् । ५ मिनेट ३२ सेकेण्डको गीतको शब्द र लय पनि सुनुवारको नै रहेको छ । गीत धरानको म्युजिक मिडिया स्टुडियोमा रेकर्डिङ भएको हो । चुनावी समयमा सामाजिक सञ्जालमा गाएका गीतहरू सुनेर साथीहरूले नै प्रोत्साहन गरेपछि आफूले गीत रेकर्ड गरेको सुनुवारले बताएका छन् ।

मजदुर सङ्गठनबाट राजनीतिमा उदाएका सुनुवार औजार प्रकाशन सहकारीका अध्यक्षसमेत हुन् । उनले ‘तिम्रै सम्झनाले’ बोलको अर्को गीतको पनि ट्रयाक बनिसकेकोले चाँडै रेकर्ड हुने अवस्थामा रहेको बताए । कार्यक्रममा सुनुवारलाई शुभकामना दिँदै सभामुख भण्डारीले अन्य क्षेत्रमा जस्तै साङ्गीतिक क्षेत्रमा समेत मोतीजस्तै चम्किलो हुन शुभकामना दिए ।