भद्रपुर/ सडक अतिक्रमण गरी पसल चलाउने व्यापारीलाई नगरपालिकाले कारबाही नगर्दा बजारमा दुर्घटना हुनसक्ने देखिएको छ । राजस्व सङ्कलनलाई मात्र ध्यान दिएर भद्रपुर नगरपालिकाले बजारलाई अव्यवस्थित बनाएका कारण जुनसुकै बेला ठूलो दुर्घटना हुने देखिएको हो ।

नगरमा रहेको वडानम्बर ५ र ६ भित्र रहेका पहिलो तथा दोस्रो सडकमा अतिक्रमण गरी पसल लगाइएका छन् । बुधबार र शनिबार लाग्दै आएको कृष्णराज कम्प्लेक्स हुँदै बसपार्कसम्म र वर्तनपट्टी हुँदै पुरानो हुलाक कार्यालय, कृष्ण मन्दिर हुँदै झिम्की चोकका सडक दायाँ–बायाँ ढाकेर पसल लगाइएका छन् । तीमध्ये केही क्षेत्रमा दैनिक सडकमा नै पसल थापेको पाइन्छ ।

सडकका दुवैतर्फ पसल र त्रिपालको छानो लगाउन टाँगिएका डोरीका कारण दमकल, एम्बुलेन्सलगायत आकस्मिक साधन आवागमन ठप्प भएको छ । नगरपालिका र वडाध्यक्षलाई पटक–पटक सडक अतिक्रमण हटाउन माग गरे पनि बेवास्ता गरेको व्यवसायी अविनाश नाहाटाको आरोप छ ।

सडक अतिक्रमणका कारण केही दिनअघि मोटरसाइकलले ठक्कर दिँदा एक बालिका घाइते भएको उनले बताए । बजार क्षेत्रमा कुनै आकस्मिक घटना भयो भने दमकल तथा एम्बुलेन्स आउन नसक्ने उनको भनाइ छ । बजार व्यवस्थापन नगरी कर मात्र असुल्ने नगरको परम्परा नै भएको उनले बताए ।

हटियाको दिनमात्र सडकमा पसल लगाउने गरेको राजकुमार साहले स्वीकारे । घर मर्मत हुँदै गरेकोले मात्र सडक पेटीमा पसल थापेको उनको भनाइ छ । सडकमा नभई किनारमा मात्र पसल लगाउने गरेको जयशङ्कर साहको भनाइ छ ।

सटक अतिक्रमण हटाउन बारम्बार प्रयास गर्दा पनि हटाउन नसकिएको वडानम्बर ६ का वडाध्यक्ष प्रेमबहादुर बरुवालले स्वीकारे । धेरै प्रयास गर्दा पनि अतिक्रमण हटाउन नसकिएको ५ नं. वडाअध्यक्ष बन्धु कार्कीले बताए ।