वासिङ्टन । अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियानको बचाउ गर्दै आफ्नो नीतिबाट पछि नहट्ने अडान व्यक्त गरेका छन् । ह्वाइट हाउसले बुधबार सामाजिक सञ्जाल एक्समा उनको तस्बिरसहित ‘कहिल्यै पछि नहट्ने’ सन्देश सार्वजनिक गरेको छ ।

डेमोक्रेटहरूले कङ्ग्रेसका दुवै सदनमा नियन्त्रण कायम गर्ने प्रक्षेपण भइरहेका बेला ट्रम्पले इरान युद्धका कारण छोटो अवधिमा पेट्रोलको मूल्य बढेर चुनावी परिणाम प्रभावित भएको स्वीकार गरेका छन् । तर, इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न सैन्य अभियान आवश्यक रहेको उनको भनाइ थियो ।

आफू निर्वाचनमा उम्मेदवार भएको भए रिपब्लिकनहरूले जित्ने दाबी गर्दै उनले चुनावी सभामा देखिएको आफ्नो लोकप्रियता अन्य उम्मेदवारमा हस्तान्तरण हुन नसकेको बताए ।

यसैबीच, उपराष्ट्रपति जेडी भान्सले आन्तरिक सर्वेक्षणले इरान युद्ध, मुद्रास्फीति, ‘अमेरिका फर्स्ट’ नीति र इजरायलसँगको सम्बन्धबारे मतदातामा असन्तुष्टि देखाएको बताएका थिए । उनले इरान युद्धलाई रिपब्लिकन पार्टीको चुनावी पराजयको प्रमुख कारणका रूपमा औँल्याएका थिए । रासस\एएनआई