उदयपुर/ कटारीको राजाबास गाउँ छेउमा बनाएको डम्पिङ स्थानीयको पहलमा नगरपालिकाले जेसिबी लगाएर पुरेको छ ।
कटारी नगरपालिकाले ४ वर्ष पहिले डम्पिङ साइट बनाएपछि फोहोरको गन्धले गाउँ नै दुर्गन्धित बनेपछि स्थानीयले व्यावस्थान गर्न माग गरेपछि पालिकाले पुरेको हो । कटारी नगरपालिका–३ राजाबासमा बनाइएको डम्पिङ साइटको फोहोर व्यवस्थापन नहुँदा गाउँ दुर्गन्धित मात्रै नभई विभिन्न खालको रोगसमेत लागेको स्थानीयहरूले बताएका छन् । कटारी बजार नजिकै रहेको गाउँ छेउमा गाउँलेलाई जानकारी नगराई डम्पिङ बनाएको स्थानीयको गुनासो छ ।
फोहोरको दुर्गन्धले गाउँ नै प्रदूषित भएपछि फोहोर सङ्कलन केन्द्रमा जेसिबी लगाएर फोहोर पुर्ने काम भएको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए । बजार र गाउँ नजिकै बनाएकोे डम्पिङ्ग साइटलाई उपयुक्त स्थानमा सारी व्यवस्थित गरिने उनले बताए ।
डम्पिङ साइटको लागि उपयुक्त स्थानको खोजी भईरहेकाले उपयुक्त स्थान पहिचान हुने बित्तिकै डम्पिङ साइट सारिने मेयर श्रेष्ठले बताए । भविष्यको लागि व्यवस्थित डम्पिङ साइट बनाउनलाई पालिकाले उपयुक्त स्थानको खोजी गरिरहेको उनले बताए । गाउँ नजिकै बनाएका डम्पिङ साइटबाट फोहोरको दुर्गन्ध गाउँभरि फैलिएर गाउँलेलाई वाक्क र दिक्क बनाएको थियो ।
पटक –पटक पालिकामा मौखिक र लिखित निवेदन दिएको भए पनि वेवास्ता गरेको स्थानीय विजय अधिकारीले बताए । नगरपालिकाले उक्त साइटमा कटारी बजारबाट निस्कने फोहोर फाल्दै आएको छ । डम्पिङको दुर्गधले गाउँमा समस्या पारेपछि डम्पिङ्ग साइट अन्यत्र सार्न र व्यवस्थापन गर्न पटक–पटक नगरपालिका गुहार्दै आएको भए पनि केही नसुनेको स्थानीय अधिकारीले बताए ।
दुर्गन्धले गाउँमा पारेको असरको समाचार विभिन्न सञ्चारमाध्यहरूमा प्रसार, प्रकाशन भएपछि पालिकाले पुरेको स्थानीयको आरोप छ । ४ वर्ष पहिले पालिकाले सार्वजनिक जग्गा संरक्षण गर्ने क्रममा हचुवाका भरमा गाउँ नजिक डम्पिङ्ग साइट निर्माण गरिएको स्थानीयहरूले बताएका छन् ।
जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्र कटारी बजारबाट दैनिक २० टनभन्दा बढी फोहोर डम्पिङ्ग साइटमा फाल्ने गरिएको छ ।