इटहरी/ प्रहरी सङ्गठन विपरीत काम गरेको भन्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले चालू आर्थिक वर्षमा डिएसपीसहित ४ सय ७३ जना प्रहरीलाई कारबाही गरेको छ ।

चालू आर्थिक वर्षको अहिलेसम्म १ डिएसपी र दुई इन्स्पेक्टर सहित ४ सय ७३ जनालाई प्रहरी आचरणविरुद्ध काम गरेको भन्दै कारबाही गरेको हो ।

सङ्गठनविरुद्ध काम गर्ने एक डिएसपीले नसिहत पाएका छन् । १ जना डिएसपीलाई नसिहत र एक जनालाई निलम्बन गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै १० जना सइ, ४८ जना असइ, १ सय २ जना हवल्दार र २ सय ७० जना प्रहरी हवल्दारलाई कारबाही गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी किशोरकुमार दाहालले बताए ।

सङ्गठनमा आर्थिक लेनदेन, अनैतिक सम्बन्ध, मादक पदार्थ सेवन, सङ्गठनको निर्देशन पालना नगर्ने, प्रहरी नियमवाली विरुद्ध काम गर्नेलाई धमाधम कारबाही भएकोे हो ।

आर्थिक प्रलोभनमा परेको, आर्थिक अनुशान भङ्ग गरेको, आन्तरिक अनुशासन भङ्ग गरेकाले कारबाही गरेको बताउँदै एसएसपी दाहाल भन्छन्, ‘हामीले सङ्गठनमा गल्ती गर्नेलाई कारबाही र राम्रो काम गर्नेलाई पुरस्कार दिने अभियान नै चलाएका छौं ।’ सङ्गठनमा केही हदसम्म सुधार आएको बताउँदै उनले आन्तरिक शुद्धीकरण चलिरहने जानकारी दिए ।

पूर्वका विभिन्न चौकी, इलाका, जिल्ला प्रहरी कार्यालयलगायतका ठाउँमा बस्दा आर्थिक चलखेल गरी घूस लिनुको साथै विभिन्न सामाजिक घटनामा संलग्न रहेकाहरूलाई आन्तरिक शुद्धीकरण गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पूर्वमा १२ हजार ९ सय ७० प्रहरी दरबन्दी रहेको छ ।