वाशिङ्टन । अमेरिकाले कुनैपनि कागजात नभएका दुई वर्षदेखि बसोबास गरिरहेका आप्रवासीलाई फिर्ता पठाउने तयारी थालेको छ । बीबीसीका अनुसार अवैध रुपमा बस्दै आएका आप्रवासीहरुलाई देश निकाला गर्नका लागि ‘फास्ट ट्रयाक’ नीति ल्याउने अमेरिकाको तयारी छ ।

विश्लेषकहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सन् २०२०को अमेरिकी राष्ट्रपति निर्वाचनको बेलामा आप्रवासन सम्बन्धी कडा नीति ल्याउने अनुमान गर्दै आएका थिए ।

यो नीति आज मंगलबार सार्वजनिक गर्ने तयारी गरिएको बीबीसीले उल्लेख गरेको छ । यद्यपि अधिकारकर्मीहरुको संस्था अमेरिकन सिभिल लिबर्टीज युनियनले सरकारले त्यस्तो नीति ल्याएमा आफूले अदालतमा चुनौती दिने जनाएका छन् ।

नयाँ नीतिमा मेक्सिकोसँगको दक्षिणी सीमामा रहेका हिरासतगृहलाई समेत समेटिने बताइएको छ । होमल्याण्ड सेक्युरिटी सम्बन्धी कार्यवाहक मन्त्री केभीन म्याकअलिनानले सीमा क्षेत्रमा देखिएको समश्या समाधान हुने जनाएका छन् । उनले यो नीतिलाई अहिले देखिएको समश्या समाधानका लागि आबश्यक प्रतिक्रिया भएको बताएका छन् । – बीबीसी