नायिका स्वस्तिमा खड्का र निर्देशक तथा कलाकार निश्चल बस्नेतलाई ‘आदर्श जोडी’ को रूपमा सम्मानित गरिएको छ ।
ललितपुरमा आयोजित एक कार्यक्रममा आदर्श जोडीको रूपमा समाजमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै यी दुईलाई सम्मानित गरिएको हो । ‘तीज माइती मेला तथा सम्मान २०७६’ मा पुगेका निश्चल र स्वस्तिमालाई आयोजकले फूलको गुच्छा अर्पण गर्दै स्वागत गरेको थियो ।
ललित ब्युटिसियन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ललित फरिया घरको आयोजनामा आयोजना भएको कार्यक्रममा निश्चल र स्वस्तिमा सम्मानित भएका हुन् ।
यो कार्यक्रम बिहीबारदेखि शनिबारसम्म चल्नेछ । कार्यक्रममा बोल्दै नायिका स्वस्तिमा खड्काले सम्मानका लागि धन्यवाद दिइन् । निर्देशक निश्चल बस्नेतले भने, ‘हामीलाई थाहा छैन, हामी यसका लागि लायक छौं या छैनौं, तर सम्मान गरिदिनुभएकोमा धन्यवाद ।’

निश्चल र स्वस्तिमाले केही वर्षअगाडि विहे गरेका थिए । निश्चल र स्वस्तिमाको जोडी चलचित्र क्षेत्रमा मात्र नभएर दर्शकमाझ पनि लोकप्रिय छ ।