धरान/ ‘मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपाल २०१९’ को प्रदेश १ को अडिसन सम्पन्न भएको छ । अडिसनमा नौ जना सहभागी भएका थिए ।
शनिबार धरानस्थित हाङ्कुक साराङ कोरियन रेष्टुरेण्टमा भएको प्रदेश अडिसनका लागि दमक, पथरी, विराटनगर, धनकुटा र धरानलगायतका स्थानहरूबाट सहभागीहरू आएका थिए । सञ्चारकर्मी तथा अभिनेता सुरजसिंह ठकुरी र मिस पूर्वाञ्चल २०१७ की फस्ट रनर अप तथा मोडल सिम्रन श्रेष्ठ अडिसनमा निर्णायक रहेका थिए ।
ग्रुप अफ इभेन्ट इन्टरटेनर्सको आयोजनामा नेपालमा दोस्रो पटक आयोजना हुन लागेको किङफिसर मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपालको आगामी साउन २७ गते सोमबार काठमाडौँमा अन्तिम अडिसन गरेपछि साउन ३० बाट प्रशिक्षण शुरु गरिनेछ ।
मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपाल २०१९ मा विजेता हुनेले फिलिपिन्सको मनिलामा सञ्चालन हुने ५१ औं मिस एसिया प्यासिफिक इन्टरनेशनल २०१९ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न पाउनेछन् भने २ लाख बराबरको पुरस्कारसँगै २५ हजार नगद पुरस्कारसमेत पाउनेछन् ।

त्यस्तै फस्ट रनर अपले १ लाख २५ हजार बराबरको पुरस्कारसँगै १५ हजार नगद पुरस्कार र मिस टुरिजम क्विन इन्टरनेशनल २०१९ आयोजना हुने राष्ट्रमा सहभागिता जनाउन पाउनेछन् ।
त्यसैगरी सेकेण्ड रनर अपले १ लाख १० हजार बराबरको पुरस्कारसँगै दक्षिण कोरियामा आयोजना हुने मिस ग्लोबल ब्युटी क्विन २०१९ मा नेपालका तर्फबाट सहभागिता जनाउन पाउने ग्रुप अफ इभेन्ट इन्टरटेनर्सका अध्यक्ष अनुप सक्सेनाले बताए ।