बलिउड अभिनेत्री दीया मिर्जाले आफ्नो ५ वर्ष लामो वैवाहिक जीवनलाई टुङ्ग्याएकी छन् । लामो समयदेखि प्रेमसम्बन्धमा रहेका दीया र साहिल सङ्घा ११ वर्षदेखि सँगै थिए ।

दीया र उनका पति साहिल सङ्घाले सम्बन्धविच्छेद गर्ने निर्णय गरेपछि उनीहरूको ११ वर्षे सम्बन्धमा विराम लागेको हो । दीयाले सामाजिक सञ्जालबाट यसको जानकारी दिएकी हुन् । उनले दुवैको सहमतिमा यो निर्णय गरेको जनाएकी छन् ।

दीयाले इन्स्टाग्राममा ११ वर्षसम्म एक–अर्कासँग जीवन बिताएको उल्लेख गर्दै सहमतिमा छुट्टिने निर्णय गरेको र सधैँ साथी बनेर रहने तथा एक–अर्कालाई उत्तिकै सम्मान र इज्जत दिने बताएकी छन् ।

‘हाम्रो जीवनको बाटो अलग भएको छ तर हाम्रो एक–अर्कासँगको सम्बन्ध एकदमै राम्रो थियो, यसका लागि हामी सदैव आभारी छौं’ –दीयाले लेखेकी छन् ।

दीया र साहिलको सन् २०१४ मा विवाह भएको थियो । दीया अभिनेत्रीसँगै मोडल तथा निर्मातासमेत हुन् । उनी सन् २००० को मिस एशिया प्यासिफिककी ताज विजेता पनि हुन् ।