धरान । धरानबाट रङ्गकर्म र पटकथा लेखन शुरु गरेका कृष्ण आचार्य पछिल्लो समय सञ्चारकर्मसँगै फिल्मका पटकथा लेखनमा व्यस्त छन् । उनी फिल्म लेखनमा जमिरहेका छन् । उनको पटकथा र संवाद रहेको नयाँ फिल्म ‘सोच’ भदौ २० बाट प्रदर्शनमा आउने तयारीमा छ । यो फिल्मबाट कृष्ण आशावादी पनि छन् । उनी भन्छन्, ‘सोच सकारात्मक सोचका विषयमा आधारित छ । यसबाट दर्शकको पनि सकारात्मक प्रतिक्रिया आउँछ भन्ने आशा गरेको छु ।’

२०४६ सालताका कृष्ण इलामको कोरियन प्रोजेक्टका जागिरे थिए । १५ दिनको बिदामा आफ्नो घर धरान आएका उनलाई रङ्गकर्मी प्रवीण राईले सरुभक्तको नाटक ‘गोलार्धको कालो आकाश’ मा अभिनयको अफर गरे । ‘बिदामा घर आएको थिएँ, धेरै समय थिएन । त्यही समयभित्र नाटक सकिन्छ भनिएको थियो’ उनी सम्झिन्छन्, ‘तर, समयमा नाटक सकिएन, त्यतिबेलासम्म नाटकको रस बस्न थालिसकेको थियो । राम्रो जागिर माया मारेर म नाटकमै लागेँ ।’

शुरुमा छिमेकी नाट्य समूहमा आबद्ध भएर अभिनय गर्न थालेका कृष्णले पछि आरम्भ, अनामलगायतका समूहमा स्वतन्त्ररूपमा अभिनय गर्न थाले । अभिनयसँगै उनले नाटक लेखन थाले । तर नाटकमा व्यवसायिक हुने अवस्था थिएन ।

त्यसबेला भिडियो फिल्मको बजार राम्रै थियो । उनी पनि त्यतै लागे । ‘आजको आतङ्क’ नामक भिडियो फिल्मले राम्रो व्यवसाय गर्न त सकेन तर कृष्णलाई फिल्मक्षेत्र सहज बनाइदियो । कृष्णले हालसम्म एक दर्जन जति फिचर फिल्म नै लेखिसकेका छन् । उनले धरान हुँदै लेखेको फिल्म ‘छिमेकी’ ले राम्रै चर्चा कमायो । काठमाडौं पुगेपछि उनले छिन्ताङ काण्डको विषयमा ‘कालरात्री’ फिल्म लेखे । त्यसपछि ‘तिमी मात्र तिमी’, ‘वशमा छैन यो मन’, लोग्ने मान्छे, तोरी लाहुरे, दबाव, हिरोज हुँदै हाल सोच लेखेका छन् । उनले धरानमै हुँदा क्याबिन गर्ल, टिनएजर, निनी, नाइँ मलाई केही चाहिँदैन, ड्रग्स एक चुनौतीलगायतका फिल्म लेखेका र केहीमा अभिनयसमेत गरेका थिए ।

काठमाडौंमा उनले म्युजिक भिडियोको निर्देशनसमेत गरे । भूवन सुप्तिहाङ राईको गीतको भिडियोबाट निर्देशनमा हात हालेका उनले अन्य भिडियोहरू पनि गरे । त्यसो त टेलिभिजनमा प्रसारण हुने सिरियलहरू पनि लेखेका छन् उनले । प्रभाकरदेव शर्माले निर्देशन गरेका सिरियलहरू ‘आमा’, ‘थोरै भए पुगिसरी’ अनि धेरै वटा चेतनामूलक सिरियल लेखेका कृष्ण अहिले इमेल एफएमका सिष्ट इञ्चार्ज र कार्यक्रम प्रस्तोतासमेत हुन् । भिडियो र रेडियोमा आफूलाई सुरज श्रेष्ठले अघि बढाएको उनी बताउँछन् ।

नेपाली फिल्मका निर्माता र दर्शकले अचेल फिल्ममा नेपालीपन खोज्ने गरेको अनुभव सुनाउँछन् उनी । उनी भन्छन्, ‘पहिला निर्माताहरू तीन वटा साउथ इण्डियन फिल्म दिन्थे र यस्तै बनाइदिनुस् भन्थे । हामी पनि घर व्यवहार चलाउने तीनवटा साउथ मुभी मिसाएर एउटा नेपाली फिल्म लेख्थ्यौं ।’ एकसमय धरानको रङ्गमञ्चमा खटेका कृष्ण अहिले पुराना नाट्यसंस्थाहरू धमाधम पुनर्गठन भएकोमा आशावादी पनि छन् । उनी भन्छन्, ‘रङ्गकर्म पहिलाभन्दा धेरै परिवर्तन भइसक्यो, अलि अपडेट भएर अघि बढे राम्रो हुन्छजस्तो लाग्छ ।’