जिरोपोइन्ट  /  धरानमा यही भदौ ५ गतेदेखि ७ गतेसम्म “महिला उद्यमी बजार प्रवद्र्धन तथा प्रदर्शनी मेला २०७६” हुने भएको छ ।
महिला सञ्जाल धरानको आयोजनामा महिला उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरूलाई बजारीकरण गर्ने उद्देश्यले उक्त मेलाको आयोजना गर्न लागिएको शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
उक्त मेला धरान १२ छाता चौकमा रहेको सोमबारे आग्र्यानिक हटिया लाग्ने अमन बजारमा लाग्ने सञ्जालले जानकारी दिएको छ । मेलाको प्रमुख आकर्षणहरुमा धरानका महिला उद्यमीहरुले उत्पादन गरेको सामग्री, ढाका तथा अल्लोका कपडा र जुत्ता चप्पल, खाद्य सामग्री रहने बताइएको छ । मेलाको पहिलोदिन तीज विशेष नृत्य प्रस्तुति, रङ्गभुमि एकेडेमीको नाटक, बालबालिकाहरुद्वारा जातीय पोशाकमा फेसन शो हुने मेलाकी संयोजक तथा महिला सञ्जाल धरानकी बरिष्ठ उपाध्यक्ष चेतना श्रेङले जानकारी दिइन ।
मेला हरेक बिहान ९ बजेदेखि बेलुकी ८ बजेसम्म लाग्ने छ । मेलामा स्वास्थ्य शिविरसमेत हुने बताइएको छ । स्वास्थ्यशिविर मेला अवधिभर नै रहने छ । उक्त मेलामा धरानका उद्यमी महिलाहरुका साथसाथै सुनसरी, झापा, मोरङ, धनकुटा,इलाम, काठमाण्डौँ लगायतकास्थानहरुबाट उद्यमीहरुको सहभागिता रहने बताइएको छ ।
मेलामा जम्मा ३० वटा स्टलहरु रहने रहने छन् । मेलामा स्टल राख्नको लागि धरान बाहिरका उद्यमीहरुलाई निःशुल्क गरिएको छ भने धरानका उद्यमीहरुलाई हरेक दिनको एक हजार रुपैयाँ शुल्क तोकिएको महिला सञ्जाल धरानकी अध्यक्ष सबिता राईले जानकारी दिइन ।