बिर्तामोड/ इलामका पर्यटकीय क्षेत्र भ्रमणका लागि धेरैजसो आन्तरिक पर्यटकको घुँइचो लाग्ने गरेको छ ।

प्रदेश नम्बर १ मा इलाम जिल्लालाई मुख्य पर्यटकीय गन्तव्यको रूपमा लिने गरिन्छ । इलामको विभिन्न स्थानमा रहेका पर्यटकीय गन्तव्यमा अवलोकन तथा मनोरञ्जनका लागि बाह्रैमास पर्यटक आउने गरेका छन् । इलामको प्राकृतिक सौन्दर्य, सूर्याेदयको दृश्य अवलोकन, वातावरण, कृषि उत्पादन, लोपोन्मुख तथा आदिवासी जनजातिका संस्कार संस्कृति र सुन्दर तथा मनमोहक पहाडका श्रृङ्खला इलामका आकर्षण हुन् ।

यसका अतिरिक्त इलाममा झरनाको सौन्दर्यता पनि थपिएको छ । इलामको रोङ गाउँपालिका –४ किटेनीमा झरना फेला परेसँगै इलाममा नयाँ पर्यटकीय गन्तव्य थपिएको हो । सो स्थानमा रहेको ‘स्वागत झरना’ को उचाइ कति छ भन्ने हालसम्म नापजाँच भने भएको छैन । यद्यपि त्यसको उचाइ १ सय मिटरभन्दा बढी भएको रोङ गाउँपालिकाका प्रवक्ता सुवास तामाङ बताउँछन् ।

त्यहाँ पुग्ने जो कोही पनि झरनाको सुन्दरतामा लोभिने गरेका छन् । गायक तथा सङ्गीतकार समेत रहेका झापाको कमल गाउँपालिकाका तारावीर पाण्डेले झापा नजिकै यति सुन्दर झरना रहेको आफूलाई पहिलो पटक थाहा भएको टिप्पणी गरे । उनले यस्तो सुन्दर दृश्य म्युजिक भिडियो र चलचित्रमा उतार्न सके पर्यटनको प्रवद्र्धन हुने धारणा राखे ।

झापाको बिर्तामोडबाट झरना भएको स्थानसम्म पुग्न खासै समय लाग्दैन । बिर्तामोडबाट सुगम मानिने रोङ गाउँपालिकामा रहेको सो झरना भएको स्थानमा पुग्न आधा घण्टाको समय लाग्छ । मेची राजमार्गबाट झापा र इलामको सिमानामा रहेको जोर कलशबाट दुई मिनेटको यात्रापछि किटेनी पुगिन्छ । किटेनीबाट १० मिनेट पैदल यात्रापछि झरना भएको स्थानमा प्ुगिन्छ । झरना पूर्ण रूपमा प्राकृतिक रहेको सोही स्थानमा भेटिएका अर्का पर्यटक मधु न्यौपानेले बताए ।

‘प्राकृतिक मात्र होइन, सौन्दर्यको हिसाबमा पनि किटेनी झरना आकर्षक छ, अर्का पर्यटक दिलीप पौडेलले भने–‘यसको संरक्षण र प्रचार प्रसार गर्न सके हजारौँ पर्यटक यहाँ आउँछन् ।’ विशेषगरी झापाको प्रचण्ड गर्मी छल्न जाने पर्यटकको पहिलो रोजाइ सो झरना हुने उनको टिप्पणी थियो । सप्तरङ्गी इन्द्रेणी झैँ देखिने यो झरनाको पानी सिमलको भुवा उडे जस्तै गरी माथिबाट बेगले तल झरेको देखिन्छ ।

बाटोमा सामान्य पाटी पौवा र नास्ता खानका लागि होटलको सुविधा रहेको छ । पर्यटकहरू आउने क्रम शुरु भएसँगै झरनाको संरक्षण र विकासका लागि गाउँपालिकाले योजना अघि सारेको छ । ढुङ्गा खसेर दुर्घटना नहोस् भनेर गाँउपालिकाले पानी छान्ने जाली राख्न लागेको प्रवक्ता तामाङले बताए । उनले पर्यटकलाई सहजताको लागि सिँढीको व्यवस्था गर्ने, सेल्फी जोन निर्माण गर्ने, गोलघरसम्म यातायात र त्यहाँदेखि पैदलमार्ग बनाउने लगायतका काम यस वर्ष गर्ने योजना रहेको बताए ।