ताप्लेजुङ/ चौथो पाथीभरा गोल्डकप उपाधिका लागि डिफेन्डिङ च्याम्पियन रेडस्टार क्लब झापा र एलाभेन एरोज क्लब सुनसरी भिडनत गर्ने भएका छन् ।

बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा डाँगीहाट क्लब मोरङलाई पराजित गर्दै झापा फाइलनमा पुगेपछि सुनसरीसँग भेट पक्का गरेको हो । रेडहर्ष क्लब इलामलाई पराजित गर्दै फाइनलमा पुगेको सुनसरीले झापासँग शुक्रबार उपाधिका लागि भिडन्त गर्दैछ । अन्तिम सेमीमा झापाले मोरङलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेको हो ।

झापाका लागि बुद्ध चेम्जोङ, पुजन उभरकोटी, योगेश गुरुङ र निशान लिम्बूले गोल गरे । यता डाँगीहाटका लागि भने विक्रम लिम्बू, विकेश लिम्बू र विक्रम धिमालले गोल गरे । झापाका निरज बस्नेत र मनोज राईको प्रहार गोलरक्षक छिरिङ तामाङले बचाए । डाँगीहाट सुमिन मैनाली, दिलेन लोक्तान र मानबहादुर परियारको प्रहार विवश चौधरीले उत्कृष्ट बचाउ गरे । खेलको म्यान अफ दी म्याच गोलरक्षक झापाका चौधरी घोषित हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।

निर्धारित समय १–१ गोलको बराबरीमा रोकिएपछि छिनोफानो टाइब्रेकरबाट लिएको हो । खेलको ४७ औं मिनेटमा योगेश गुरुङको गोलमा झापाले अग्रता लिएको थियो भने मोरङका लागि विकेश लिम्बूले ५३ औं मिनेटमा बराबरी गोल फर्काए । रक्षात्मक शैलीमा खेलेको दुवै टोलीले झरीका कारण पनि थप चुनौती सामाना गर्नुपरेको थियो ।

प्रतियोगिताको फाइनल संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको प्रमूख आतिथ्यतामा फाइनल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद ३ लाख ११ हजारसहित ट्रफी पाउने छ भने उपविजेताले नगद १ लाख ५१ हजार रुपैयाँसहित ट्रफी पाउने छ ।