धरान / पृथ्वी–लक्ष्मी राई ब्याडमिन्टन ओपन च्याम्पियनसिपमा सुजन श्रेष्ठ र देवेन्द्र खड्काको टिम च्याम्पियन बनेको छ ।
शनिबार धरान–१३ स्थित अमर सेवा समाजको बहुउद्देश्य भवनको कोर्टमा सम्पन्न फाइलनमा सुरेश लिम्बू र उदयचन्द्र थापाको टिमलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । विजेता टिमले नगद २५ हजार रुपैयाँसहित ट्रफी पाउँदा उपविजेता टिमले नगद १५ हजार रुपैयाँसहित ट्रफी पाएको छ । त्यस्तै मेन्स डबल्सतर्फ सूर्य श्रेष्ठ र शम्भु राई साथै चोलाप्रसाद आचार्य र राजकुमार थापाको टिम तेस्रो बनेको छ । उनीहरूले जनही नगद ८–८ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
पृथ्वी–लक्ष्मी मेमोरियल ट्रष्टको आयोजनामा शुक्रबारदेखि शुरु भएको प्रतियोगितामा भेट्रानतर्फ टेकप्रसाद लिम्बू र विकास राईको टिमले जनक बस्नेत र दुर्गाधन राईको टिमलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । विजेताले नगद १२ हजार रुपैयाँसहित ट्रफी प्रमाण पत्र पाएको छ भने उपविजेता टिमले नगद ६ हजार रुपैयाँसहित ट्रफी पाएको छ ।
भेट्रानमा कृतिमान राई र दुर्गाधन राई साथै थामबहादुर राई र विशाल पाहिम तेस्रो बन्दै नगद ३–३ हजार रुपैयाँ प्राप्त गरेको छ । यस्तै उदयिमान डबल्समा भेषराज मगर र जितबहादुर लिम्बूको टिमले जीवन पतङ्वा र लेखबहादुर राईको टिमलाई ३–० को सोझो सेटले नै हराएको छ । विजेताले नगद १० हजार रुपैया र उपविजेताले नगद ५ हजार रुपैयाँसहित ट्रफी पाएको छ । उदयिमानतर्फ दिनेश चौधरी र प्रवीण क्षेत्र साथै रामकुमार मावो र देवधन राईको टिम तेस्रो बन्न सफल भएको छ । तेस्रो हुने टिमले नगद ३–३ हजार रुपैयाँ प्राप्त गरेको छ ।
विजेता टिमलाई प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय उपाध्यक्ष चन्द्रशेखर लामा, ट्रष्टका अध्यक्ष विदुर राई, उपाध्यक्ष किशोर राईलगायतले पुरस्कार प्रदान गरेका छन् । खुल्ला र भेट्रानमा १६–१६ टिम सहभागी बन्दा उदयिमानमा ५० टिम सहभागी बनेका थिए । ट्रष्टका अध्यक्ष विदुर राई र उपाध्यक्ष किशोर राईले आफ्ना आमाबुबाको नाममा ट्रष्ट स्थापना गर्दै पहिलो पटक खुल्ला ब्याडमिन्टन प्रतियोगिता गराएको हो । यसअघि धरान उपमहानगरका कर्मचारी स्तरीय ब्याडमिन्टन प्रतियोगिता मात्रै गराएको थियो ।