विराटनगर । कुनै पनि अपराधिक क्रियाकलाप गर्दै वा गरेर भाग्दै हुनुहुन्छ ? अब होसियार रहनुहोला ! मोरङ प्रहरीले १ नम्बर प्रदेश सरकारको सहयोगमा ५८ वटा सीसी क्यामेरा प्रदेशको राजधानी विराटनगरसहित विभिन्न स्थानमा जडान गरि संचालनमा ल्याएको छ । अब क्यामेराबाट सुरक्षाको निगरानी राख्दै सबै प्रकारको अपराधिक गतिविधिलाई नियन्त्रण गरि प्रहरीको अनुसन्धानलाई प्रभावकारी बनाउने भएको हो ।

प्रदेश सरकारले १ करोड २० लाख रूपैयाँ बजेट बिनायोजन गरिएको मध्ये जम्मा १ करोड लाख १३ लाख ५८ हजार ५ सय ९ रूपैयाँ खर्च गरेर मोरङ जिल्लाको विभिन्न स्थानमा सीसी क्यामेरा जडान गरिएको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारी जानकारी दिए । मोरङ जिल्लाको हाइवेहरूमा ६० किलोमिटर अप्टिकल फाइबर जडान गरि सीसी क्यामरा जोडेको उनले बताए । विराटनगरको हाइवे एरियामा ३२ थान, पूर्व–पश्चिम राजमार्ग अन्तर्ग इटहरी हुँदै बुढिखोला देखि भाउन्नेसम्म १३ थान र पथरीदखि उर्लाबारीसम्म १३ थान सीसी क्यामेरा जडान गरिएको एसपी अधिकारीले जानकारी दिए । प्रहरीले जडान गरिएको सीसी क्यामेरा पिटिजेट र फेक्स्ट रहेको छ ।

विराटनगरको रानीदेखि ६० किलोमिटर क्षेत्र भित्र अप्टिकल फाइबर बिछ्याएर राखिएकोे सीसी क्यामेराको निगरानी कक्ष (कन्ट्रोल रूम) जिल्ला प्रहरी कार्यालय मोरङ, इलका प्रहरी कार्यालय पथरी र बेलबारी प्रहरी कार्यालयमा पनि रहेको एसपी अधिकारीले बताए । उनका अनुसार सीसी क्यामेराले कैद गरिएको भिडियो फुटेज तीन महिनासम्म स्टोरिज गरि राख्न सकिनेछ । जिल्लामा नयाँ जडान भएको ५८ वटा सहित जम्मा १ सय ५४ वटा सीसी क्यामेराबाट मोरङ जिल्लाको सुरक्षा निगरानी राखिदै आएको छ ।

पछिल्लो समय अपराधको शैली फेरिएसँगै प्रहरीले अपराधीक क्रियाकलापहरू नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउन राखिएको सीसी क्यामेराले ठूलो सहयोग मिल्ने सुरक्षा अधिकारीको भनाई छ ।
प्रदेश सरकारको सहयोगमा जडान भएको सीसी टिभी सुरक्षा प्रणालीको शुभराम्भ सोमबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका छन् । उनले सीसी टिभी सुरक्षा प्रणालीको समुदघाटन गर्दै सबै प्रकारको अपराध नियन्त्रण र अपराध अनुसन्धान गर्न सहयोग मिल्ने बताए । ‘मोरङ जिल्लामा राखिएको सीसी क्यामेराबाट निगरानी राखेर अपराध नियन्त्रण र प्रहरीको अनुसन्धानलाई प्रभावकारी बनाउने मध्धत मिल्नेछ,’ उनले भने । मुख्यमन्त्री राईले भरपर्दो सुरक्षा प्रणाली अबिलम्बन गरि सुशासन कायम गरेर अगाडी बढुनपर्नेमा जोड दिए ।

प्रदेश १ मा प्रदेश सरकार बनेका दिनदिखे सुरक्षाको प्रत्याभूति दिन सुशासन कायम गरिन महत्पपूर्ण कामको घोषणा गरेको पनि उनले बताए । ‘हामीले जतिसुकै ठुलो बजेट जतिसुकै राम्रो कार्यक्रम ल्याएपनि शान्ति, सुरक्षा र सुशासनको अनुभुती जनतालाई दिन सकेनौ भने त्यसको कुनै अर्थ हुदैन,’ मुख्यमन्त्री राईले भने, ‘त्यसैले पनि जनतालाई अनुभूति हुने शान्ति सुरक्षा सुशासन कायम गरि विकासको कामलाई अगाडी बढाउनुपर्दछ ।’ उनले प्रहरी संगठनलाई नमुना बनाउने प्रदेश सरकारको योजना अनुसार कामको सुरुवात पनि गरेको उनले बताए ।

कार्यक्रममा बोल्दै नेपाल प्रहरीको आइजीपी सर्वेन्द्र खनालले सुरक्षा संयन्त्रलाई बलियो बनाउन प्रविधि आजको आवश्यकता भएको बताए । उनले यस्तो प्रविधिले प्रहरीलाई अनुसन्धानको लागि अचुक एउटा औषधीको रूपमा लिन सकिने बताए । ‘प्रविधिले कसुरदारलाई पहिचान गर्ने काम गर्दछ,’ आइजीपि खनालले भने, ‘जसले कसुर गरेको छ त्यसको पहिचान गर्न प्रविधिले स्पष्ट संकेत गर्दछ ।’ नेपाल प्रहरीलाई परिस्कृत गर्न यो प्रविधिले ठूलो सहयोग पुग्ने उनले बताए । ‘अपराधमा फेरिएको शैलीलाई प्रविधिमार्फत अनुसन्धान गर्दा प्रभावकारी हुनेछ,’ उनले भने, ‘सीसी क्यामेरा जडान गरेर अपराध रोकथाम, नियन्त्रण र अनुसन्धानमा प्रहरीलाई सहयोग मिल्नेछ ।’

अपराध अनुसन्धान र शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी संसारमै उत्कृष्ट भएको बताउँदै उनले सीसी क्यामेराले सुरक्षा प्रणालीलाई थप मजबूद बनाएको बताए ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नेपाल प्रहरीलाई शान्ति सुरक्षा सुदृढ बनाउन महानगरले सहयोग गर्ने बताए । महानगरमा हुने अपराधिक गतिविधि नियन्त्रणका लागि महानगरले पनि योजना बनाएर काम अघि बढाएको बताए ।

कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी ठाकुरप्रसाद ज्ञावलीले प्रहरीको संख्यात्मक जनशक्ति भन्दा प्रहरीलाई प्रविधिसँग जोडेर अनुसन्धानमा गुणात्मक फड्को मार्न सकिने बताए । यही निष्कर्षसहित प्रदेश सरकारले बजेट व्यवस्थापन गरेको प्रहरीलाई प्रविधिसँग जोडिएको उनले बताए ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा प्रदेश प्रहरीले राजधानी विराटनगरसहितका पहिलो चरणमा प्रदेश १ को ६ जिल्लाको मुख्य शहरहरूमा सीसी क्यामारा जडान गरिने भएको छ ।

मोरङ, सुनसरी, झापा, इलाम, धनकुटा र उदयपुरका प्रमुख शहर लक्षित गरि सीसी क्यामेरा जडान गरिने भएको हो । यसका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सडक सुरक्षा तथा सुशासन कार्यक्रम अन्तर्गत ४ करोड ७४ लाख ८१ हजार १६८ रुपिँया बिनियोजन गरेर खर्चको अख्तियारी प्रदेश प्रहरी कार्यालयलाई दिइएको छ ।

मन्त्रालयका अनुसार मोरङमा ५८, झापामा ३०, सुनसरीमा ३८, उदयपुरमा २३, धनकुटामा २३ थान र प्रदेश प्रहरी कार्यालय, प्रदेश सरकारका मन्त्रालयमा १५ थान सीसी क्यामेरा जडान गर्ने योजना छ ।