खोटाङ । सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले आयोजना गरेको ‘सातौँ सोल्मा अन्तर वडाकप पुरुष फुटबल प्रतियोगिता’को उपाधि खोटेहाङ गाउँपालिका–६ इन्द्रेणी पोखरीले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित सोल्मा स्पोर्टस् क्लबको खेलमैदानमा मङ्गलबार भएको फाइनल खेलमा साकेला गाउँपालिका–५ मात्तिमलाई ३–० गोलले पराजित गर्दै इन्द्रेणीपोखरीले उपाधि जितेको हो ।
सातौँ संस्करणको उपाधि विजेता इन्द्रेणी पोखरीले नगद एक लाख २२ हजार २२२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको मात्तिमले नगद ७७ हजार ७७७ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको सुरुआतदेखि नै उत्कृष्ट प्रदर्शन गरेको इन्द्रेणी पोखरीले तीन गोल गर्दा मात्तिमले कुनै पनि गोल फर्काउन सकेन । प्रतियोगितामा सेमिफाइनलिस्ट बनेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी र सोही नगरपालिकाको वडा नं ५ लफ्याङले जनही नगद ३३ हजार ३३३ प्राप्त गरेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका एञ्जल राई उदीयमान खेलाडी, इन्द्रेणी पोखरीका शुभराज राई उत्कृष्ट गोलरक्षक, सोही ठाउँका सविन भुजेल उत्कृष्ट डिफेन्डर, मात्तिमका युसन राई उत्कृष्ट मिडफिल्डर, इन्द्रेणी पोखरीका विकास राई उत्कृष्ट प्रशिक्षक, मात्तिमका साहेल राई सर्वाधिक गोलकर्ता र इन्द्रेणी पोखरीका विजय राई उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगद पाँच हजार ५५५ तथा अन्य विधाका उत्कृष्टलाई नगद दुई हजार २२२ प्रदान गरिएको सोल्मा स्पोर्टस् क्लबका सहसचिव अमर श्रेष्ठले जानकारी दिए ।
विजेता वडा तथा उत्कृष्ट खेलाडीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले पुरस्कार वितरण गरेका थिए । कात्तिक ११ गतेदेखि सुरु भएको खुला अन्तर वडाकप पुरुष फुटबल प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहका १२ वडाले सहभागिता जनाएका थिए ।
विविध कार्यक्रमसहित आयोजना गरिएको सातौँ संस्करणको फुटबल प्रतियोगिताका अवसरमा कात्तिक १५ गते बृहत् साङ्गीतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो । जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले कात्तिक ११ गते प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए । खेलकुद तथा साङ्गीतिक कार्यक्रममा चर्चित गायिका रचना रिमाललगायत राष्ट्रिय कलाकारले प्रस्तुति दिएका थिए ।
खेल क्षेत्रको विकास तथा व्यावसायिक खेलाडी उत्पादन गर्ने उद्देश्यले २०७० सालमा स्थापना भएको सोल्मा स्पोर्टस् क्लबले हरेक वर्ष वडास्तरीय प्रतियोगिता सञ्चालन गर्दै आएको छ । ‘सभ्य समाज निर्माणको निम्ति अनिवार्य खेलकुद’ भन्ने नाराका साथ स्थापना भएको क्लबले जग्गा खरिद गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसारको खेलमैदान निर्माण गरेको छ । रासस

































