वासिङ्टन । अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटिक पार्टीले प्रारम्भिक सफलता हासिल गर्दै रिपब्लिकनको एक सिनेट सिट जितेको छ । रिपब्लिकनको बलियो पकड मानिएका क्षेत्रमा समेत डेमोक्रेटिक पार्टीले आफ्नो प्रभाव विस्तार गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि राजनीतिक दबाब बढ्ने सङ्केत देखिएको छ ।

डेमोक्रेटहरूले सिनेटका महत्त्वपूर्ण सिट सुरक्षित राख्नुका साथै जर्जियाको गभर्नर पदमा पनि सफलता हासिल गर्ने अनुमान गरिएको छ । यद्यपि, कङ्ग्रेसका दुवै सदनको नियन्त्रण कसले लिने भन्ने विषयमा अन्तिम निर्णय भइसकेको छैन ।

ट्रम्पको दोस्रो कार्यकालप्रति जनमत परीक्षणका रूपमा हेरिएको यस चुनावमा जीवनयापनको बढ्दो लागत, भन्सार शुल्क र इरानविरुद्धको अमेरिकी युद्ध प्रमुख मुद्दा बनेका छन् । युद्धका कारण इन्धनको मूल्य तीव्र रूपमा बढेपछि राष्ट्रपति र उनको पार्टीमाथि दबाब थपिएको छ ।

डेमोक्रेटहरूले उत्तरी क्यारोलिनामा रिपब्लिकनको नियन्त्रणमा रहेको प्रतिनिधिसभाको एक सिट जितेका छन् । उक्त क्षेत्रमा ट्रम्पले सन् २०२४ को राष्ट्रपतीय चुनावमा सहज जित हासिल गरेका थिए । फ्लोरिडामा पनि निर्वाचन क्षेत्रको पुनः निर्धारणबाट रिपब्लिकनले अपेक्षा गरेअनुसार लाभ लिन नसक्ने सङ्केत देखिएको छ ।

जर्जियामा एटलान्टाकी पूर्वमेयर केइशा ल्यान्स बटम्सले गभर्नर पद जित्ने अनुमान गरिएको छ । उनी निर्वाचित भए अमेरिकाको पहिलो अश्वेत महिला गभर्नर बन्नेछिन् । यससँगै जर्जियामा २४ वर्षदेखि कायम रिपब्लिकन शासनको अन्त्य हुनेछ ।

यद्यपि, फ्लोरिडामा ट्रम्पको समर्थन प्राप्त बायरन डोनाल्ड्सले गभर्नर पदको चुनाव जितेका छन् । उनी निर्वाचित भए राज्यको पहिलो अश्वेत गभर्नर बन्नेछन् । रिपब्लिकन एशले मूडीले पनि सिनेटको आफ्नो सिट सुरक्षित राखेकी छन् ।

उत्तरी क्यारोलिनामा डेमोक्रेट रोय कुपरले ट्रम्पद्वारा छनोट गरिएका पूर्वरिपब्लिकन राष्ट्रिय समिति अध्यक्ष माइकल ह्वाटलीलाई पराजित गरेका छन् । ट्रम्पलाई लगातार तीन पटक समर्थन गरेको यस राज्यमा कुपरले जीवनयापनको लागत घटाउने प्रतिबद्धतासहित चुनावी अभियान चलाएका थिए । उनले राष्ट्रपतिसँग मतभेद राख्दै आएका अवकाशप्राप्त रिपब्लिकन सिनेटर थोम टिलिसको स्थान लिन प्रतिस्पर्धा गरेका थिए । रासस /एएफपी