लक्ष्मीमार्ग/ तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपमा विभागीय टोली नेपाली पुलिस पाहुना टोली रोयल क्लब वेस्ट बङ्गाल भारतसँग स्तब्ध बनेको छ ।

नेपाल पुलिसमाथि टाइब्रेकरमा ४–२ गोलले रोयल क्लब हाबी बनेको हो । निर्धारित समयसम्म २–२ को बराबरीमा रोकिएपछि खेलको छिनोफानो टाइब्रेकरमार्फत् गरिएको थियो । जसमा रोयल क्लबले बाजी मार्दै अर्को चरणमा प्रवेश पाएको छ ।

रोयलका प्रहारहरू गोलपोष्टको दिशा लिएपछि पुलिसका प्रहार भने विपक्षी गोलरक्षकले बचावट गरेपछि स्तब्ध बनेको हो । पुलिसका निरकुमार राईको प्रहार गोलरक्षक किशोर गिरीले बचाउँदा चौथो प्रहार बारमा लागेर फर्किएको थियो । खेलको म्यान अफ दी म्याच रोयलका गोलरक्षक गिरी घोषित हुँदै ५ हजार रुपैयाँ पाए ।

निर्धारित समयमा रोयलका लागि अमिर लामा र दीपु बर्मनले गोल गरेका थिए भने पुलिसका लागि सौजन याक्खा र सुमन लामाले गोल गरे । यो खेलसँगै सेमीफाइनलको समीकरण पूरा भएको छ । आज (बुधबार) को पहिलो सेमीफाइनल खेल काठमाडौंको मदन भण्डारी स्पोर्टस् एकेडेमी र धरान फुटबल क्लबबीच हुँदै छ ।

त्यस्तै सोमबारको खेलमा काठमाडौंको मदन भण्डारी स्पोर्टस् एकेडेमीले बुटवलको गोर्खा ब्वाइज क्लबलाई ३–२ गोलअन्तरले पराजित गरेको थियो । एकेडेमीबाट तपन कार्की, प्रकाश बुढाथोकी र भूषण सुब्बाले १–१ गोल गर्दा गोर्खाबाट दुवै गोल दीपक राईले गरेका थिए । खेलको म्यान अफ दी म्याच मदन भण्डारी एकेडेमीका तपन कार्की घोषित हुँदै ५ हजार रुपैयाँ पाएका थिए ।