धरान । काठमाडौंका लागि सिन्धुपाल्चोकबाट छुटेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

त्यसमध्ये ११ जना मृतकको सनाखत भइसकेको छ । ३ जना मृतकको अझै पहिचान नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । दुर्घटनामा घाइते हुनेहरुको धुलिखेल र काठमाडौंको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बसमा सवारको भनाइ उदृत गर्दै प्रहरीले बसमा १ सय २० जना भन्दा बढी सवार गरेको जनाएको छ । बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो । हुडमा पनि सवारीहरु यात्रारत थिए । दुर्घटना भएको स्थलमा ७ जनाको ज्यान गएको थियो भने अन्यको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

यसैबीच दुर्घटनाको घाइतेहरुको अवस्था बुझ्नका लागि प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल धुलिखेल अस्पताल पुगेका थिए । उनले दुर्घटना लगत्तै स्थानीय सरकार, राजनीतिक दलको नेता तथा सर्वसाधारण जुटेकाले तत्कालै उपचारका लागि पठाउन सम्भव भएको बताए ।