विराटनगर / श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद संजेललाई ठगीका मुद्दा हेर्न श्रम विभागले रोक लगाएको छ । छोटो अवधिमै २ करोड १२ लाख बढी सर्वसाधरणको ठगीको रकम उठाएर सेवाग्राहीको मन जितेका संजेललाई पत्र काटेर श्रम विभागले ठगीको मुद्दा हेर्न रोक लगाएको हो ।
भ्रष्टाचार र ठगीका विरुद्धमा कडा कदम चाल्ने प्रशासकका रुपमा चिनिएका संजेललाई श्रम विभागले पत्र लेखेरै त्यसखालका मुद्दा नहेर्न पत्र काटेको छ । संजेलले ठगलाई समाउने र रकम उठाइदिने आशाले श्रम कार्यालय आउने गरेका पीडित सर्वसाधरण भने अहिले निराश हुँदै फर्किने गरेका छन् ।
अहिले पनि श्रम कार्यालयमा दैनिक दर्जनौं मानिस ठगीएको भन्दै उजुरी दिन आउने गरेका छन् । तर, ठगका विरुद्धमा आगो ओकल्ने प्रेम संजेललाई नै उजुरी नलिन श्रम विभागले पत्र पठाएपछि पीडित सामू उनी पनि नतमस्तक भएका छन् ।
श्रम विभागका निर्देशक (उपन्यायाधिवक्ता) राजेश्वर अर्यालले गत वैशाख ३१ गते वैदेशिक रोजगारीको नाममा ठगीएको भन्ने उजुरी उपर कुनै कारबाही नगर्न भन्दै चलानी नम्बर २७२२ को पत्रबाट संजेललाई आदेश दिइएको छ । त्यसखालका काम जिल्ला प्रशासन कार्यालयबाट हुने पत्रमा उल्लेख छ ।
पहिले श्रम तथा रोजगार कार्यालय विराटनगरको काम श्रमिकको र उद्योग, प्रतिष्ठान व्यापारका लगानिकर्ताको मुद्दा हेर्ने काम थियो । वैदेशिक रोजगारी श्रम स्वीकृतिको काम सुरु भए पछि भने वैदेशिक रोजगारीमा लैजाने नाममा भएका ठगी गरेका विषयमा पनि यस कार्यालयबाट काम हुन थाल्यो । अब वैदेशिक रोजगारी ठगीका मुद्दा नहेरिने संजेलले बताए ।
१ नम्बर प्रदेशबाहेक अन्य श्रम कार्यालयले ठगीका मुद्दा नलिएको र अब आफूलाई पनि नगर्नु भनि पत्र आएको कारण काम गर्न नसकिने भन्दै फर्काउने गरेको संजेलको भनाइ छ ।
मौखिक रुपमा आएको अधिकारपछि संजेलले झण्डै डेढ सय जनाको २ करोड १२ लाख ठगीको पैसा असुल उपर गरिदिएका थिए भने ५६ लाख रुपैयाँ फिर्ता गराउने प्रक्रियामा छ । संजेल गत फागुन २३ गतेदेखि सो कार्यालयमा हाजिर भएका थिए । भदौको पहिलो सातासम्म वैदेशिक रोजगारमा जानेहरूलाई पैसा लिइ रोजगारमा नपठाउने ठगहरूलाई पक्राउ गरि सो रकम उठाएको उनले जानकारी दिए ।
श्रम कार्यालयका प्रमुख संजेल उक्त कार्यालयमा आएपछि ठूलादेखि सानासम्म ठगलाई पक्राउ गरेर वैदेशिक रोजगारीमा लगिदिने नाममा हुने ठगीका रकम फिर्ता गराएका थिए । सो खबर देशका सबै क्षेत्रमा पुगेपछि पूर्वदेखि पश्चिमसम्मका ठगीमा परेका पीडितहरु उनैको च्याम्बरमा आउने गरेका थिए । संजेललाई श्रम कार्यालय विराटनगरबाट सरकारले सरुवा गरेको थियो । संजेललाई अदालतले पुनर्वहाली गरेपछि भने पुनः श्रम कार्यालयमा काम गरिरहेका छन् ।