मिथिलाञ्चलको प्रसिद्ध सांस्कृतिक पर्व सामा चकेवाका लागि आजदेखि माटोको आकृति बनाउने कार्य शुरू भएको छ । सामा चकेवा दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो । यो पर्व द्वितीया तिथिदेखि पूर्णिमा तिथिसम्म मनाइन्छ ।

सो पर्वका लागि द्वितीया तिथिका दिन दिदी­बहिनीले सामा चकेवा पर्वका लागि माटोको आकृति बनाउने कार्यको थालनी गरी छठ पर्वको खरना वा पारणदेखि पात्रहरुको आकृति बनाउने कार्यलाई तीव्रता दिने चलन रहेको छ । मिथिलाञ्चलको प्राचीन सामाजिक, पारिवारिक संस्कार र परम्परालाई इङ्गित गर्ने यो पर्व लोकनाट्यको एउटा रूप हो, जसमा महिला सूत्रधार र पात्रमा माटोका मानव, पशु र चराको आकृति हुन्छन् । संस्कृतिविद् रामभरोस कापडि मानवीय संवेदनाका गहकिला पक्ष समेट्दै मौखिक परम्परामा जीवित रहँदै आजसम्म जीवन्त प्रस्तुति भइरहेको सामा चकेवा पर्व विशिष्ट सांस्कृतिक सम्पदा भएको बताउनुहुन्छ । उहाँका अनुसार दाजुभाइ दिदी–बहिनीको प्रेम मुख्य आधार भएको यस पर्वले भाइ–बहिनी र पति–पत्नीको अमर प्रेम, समर्पण, उत्सर्ग र श्रद्धा प्रदर्शित गर्दछ । के छ सामा चकेवामा ? सामा स्त्री पात्र र चकेवा पुरूष पात्र हुन् । दुइटैलाई चराका रूपमा माटोको बनाइएको हुन्छ । त्यस्तै अन्य पात्र पनि माटोकै बनाइन्छ । सामा चकेवा पर्व मनाउँदा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीत गाएर बहिनी मनोरञ्जन गर्दछन् । छठको खरना वा पारणदेखि मैथिल ललना माटोको आकृति बनाइ राति एउटा ढक्कीमा राखी दीप बाली घरबाट बाहिर अन्य साथी मिलेर गीत गाउँदै चौरमा गइ यो पर्व मनाउने गर्दछन् ।

परम्परागत विश्वासका आधारमा चौरमा सामा चकेवालाई शीत र दुबो खुवाउने चलन पनि छ । चौरमा सबै महिला आ–आफ्नो डाला एक ठाउँमा राखी चारैतिर वृत्ताकारमा बस्दछन् । यस पर्वमा पतिपत्नीका बारेमा चुक्ली लगाउने छुल्याहा चुगला भन्ने पात्रको जुँगाको प्रतीक जुटलाई डढाउने काम हुन्छ । यो क्रम पूर्णिमासम्म चल्ने गरेको पाइन्छ । यसमा सामा चकेवालगायत चुगला, ढोलिया, भरिया, सतभइया, खञ्जनचिडैया, वनतीतर, झाँझी कुत्ता, भैया बटतकनी, मलिनियाँ र वृन्दावनलगायतका पात्र हुन्छन् । सामा चकेवा पर्वमा माटोको आकृति बनाएर दिदी–बहिनीले मनोवाञ्छित फल प्राप्तिका कामना गर्दछन् । मूर्तिलाई चलायमान गरी सम्वादको आनन्द उठाउँछिन् । यसमा कुनै बेला बृन्दावनमा आगो लगाउँछिन् र, कुनै बेला चुगलाको मुख आगोले पोल्छिन् । डालामा राखिएका सबै माटोका मूर्तिहरू त्यत्ति बेला जीवन्त भएर आउँछन्, जब महिला त्यसलाई पात्रका रूपमा उभ्याएर गीति सम्वाद बोल्छन् । कथा तत्व मिथिलामा सामा चकेवाको प्रचलन प्राचीन कालदेखि नै रहेको पाइन्छ ।

यसको सर्वप्रथम चर्चा पद्रमपुराणमा पाइन्छ । यो पूर्णरूपमा भाइबहिनीको प्रेममा आधारित छ । भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अद्भूत भ्रातृत्व प्रेमको चित्रण, चुक्ली गर्नेहरूको प्रतीक चुगला प्रवृत्तिको निन्दा, सामाको ससुराल जाने प्रसङ्गको मार्मिक क्षणजस्ता गीति सम्वाद र अभिव्यक्तिको छोटो कथातत्व बोकेको गीति संरचना रहेको छ । स्कन्द पुराणमा सामा चकेवाको कथा सम्प्रसङ्ग उल्लेख गरिएको छ, जसअनुसार श्यामा ( सामा) र चकेवा पतिपत्नी हुन् । श्यामाका पिता कृष्ण छन् भने पति चारूवक्य (चकेवा) । चारूवक्य आश्रममा वस्दथे । श्यामा आफ्ना पतिलाई भेट्न आश्रम गइरहँदा चुगलाले कष्णकहाँ गइ चुक्ली लगाए–श्यामा कुनै मुनिसँग प्रेम गर्छिन रे ! कृष्ण रिसाएर श्राप दिई चरा बनाइ दिए । भाइ शम्बलाई जब यो थाहा भयो, उनी छटपटिन थाले । बुवासँग अनुनय विनय गरे । केही सीप लागेन । अनि तपस्या शुरू गरे । कार्तिक पूर्णिमाका दिन तपस्या पूर्ण भयो र वरदानमा बहिनी श्यामा (सामा)को पूर्वरूपमा पाए ।

त्यसैले बहिनीद्वारा भाइका लागि यो पर्व मनाउने गरिन्छ । चारूवक्य पत्नी वियोग सहन गर्न नसकेर तपस्याकै भरमा चकेवाका रूपमा चरा हुन पुगे । चरा भएकी पत्नी सामासँग वस्न थाले । त्यसै क्रममा उनीहरूको वास रहेको वृन्दावनमा विरोधीले आगो लगाए । उठीवास गर्न धेरै प्रयत्न गरे तर अन्ततःआफ्नो तपस्या र पराक्रमले उनीहरू पुनःमानवरूपमा अवतरण भएको आख्यान रहेको छ । केही गीत यस पर्वमा मिथिलाञ्चलको पारिवारिक जीवन तथा लोक आस्थाको अट्ट सम्बन्ध देखिन्छ । मानव मात्र हैन, घर परिवारमा रहने चरा, झाँझी कुत्ता, वनतित्तर र जङ्गली जीवनको अद्भूत समन्वय रूप देखिन्छ । समाज र परिवार जहाँ हुन्छ, त्यहीँ चुक्ली गर्ने, षड्यन्त्र गर्ने चुगलाजस्ता पात्र हुन्छ । कठपुतली नृत्यको आभास दिने यो पर्वमा डोरीले हैन, हातले सञ्चालन हुन्छन् र महिला सूत्रधारका रूपमा जीवनका गाथा लोक धुनको आधारमा गाउँछिन् जसमा अपूर्व र विशिष्ट शैलीको जनजीवनकै उद्वेग प्रवाहित भइरहेको हुन्छ । महिला जब आ–आफ्नो घरबाट डालामा मूर्ति राखी सामा खेल्न चौरतिर निस्किन्छन् तब उनी गाउँछिन् ः

डालाले बहार भेली, बहिनी से पलाँ बहिनो फलाँ भइया लेल डाला छीन, सुनु गे राम सजनी..............।

भाइ र उनका परिवारजनको मङ्गल कामना गर्दै गाइने गीतमा जनकपुरधामको चर्चा आउनु महत्वपूर्ण सङ्केत गर्दछ । यसले जनकपुरको प्राचीनता र समृद्धितिर पनि इङ्गित गरेको प्रस्ट छ ः सिरी रे जनकपुरसँ आबि गेल भ्रमरा लागि गेल पनमा दुकान................... ।

जब चुगला बारी आउँछ, त्यसलाई बायाँ हातमा समाति त्यसको जुँगा भनी राखिएको सनपाट (जुट) मा दाहिने आगो लगाउँदै निभाउँदै महिला यस प्रकारको गीत गाउँछिन् ः धान –धान–धान , भइया कोठी धान चुगला कोठी भुस्सा ......।

प्रतीकात्मकरूपमा भैयाकोठी धान र चामल भनी भाइको समृद्धिको कामना गरिन्छ भने चुक्ली लगाउने दुष्ट प्रवृत्तिको कोठीमा भुसा र खरानी भएको देखाएर तिरस्कृत र लाञ्छित गर्नै काम गरिएको छ । सम्पन्नतासँगै भाइ वीर र योद्धा पनि छन् । वृन्दावनमा आगो लाग्दा निभाउने कोही नभएको अवस्थामा बहिनीलाई भाइमाथि विश्वास भएको गीत यसरी गाइन्छ ः वृन्दावनमे आगि लागै कोइ ने मिझावे हे हमर भैया फलना भैया दौडि –दौडि मिझाबे हे...........।

सामा चकेवाको विसर्जनको बेलाको गीत मर्मस्पर्शी हुने गरेको छ ः सामचको, सामचको अइह हे जोतल खेतमे बइसिह हे................. । पूर्णिमा का दिन सामा चकेवालाई अर्को वर्ष फेरि कूड खेतमा आइ बस्नु हे भन्दै सबै माटोका पात्रको विसर्जन गरिने चलन रहेको छ ।