देउराली/ सघन शहरी विकास तथा भवन निर्माण आयोजनाको लागतमा बनेको धरान उपमहानगरपालिका–२ र ३ स्थित त्रिभुवन पथ निर्माण सम्पन्न भएको महिना दिन नपुग्दै कालोपत्रे उप्किन थालेपछि अहिले जताततै खाल्डैखाल्डा बनेको छ ।

सिंहदेवी चौकदेखि अजुमन इस्लाम मियाँ मस्जिदसम्मको करिब आधा किलोमिटर सो सडकमा ठेकेदारको चरम लापरबाहीका कारण निर्माण सम्पन्न भएको ६ महिना पूरा नहुँदै अधिकांश कालोपत्रे उप्किएर सडक खाल्डोमा परिणत भएको हो ।

विराटनगरका देवेन एण्ड शेयर र भूमिदेवी कन्स्ट्रक्सनले ठेक्का पाएसँगै काम गर्न मजदुर फिल्डमा पठाएको ठेकेदारले मजदुरलाई सामान्य औजारसमेत नदिई अन्दाजको भरमा काम गरेको र नाफाका लागि कमसल सामग्रीको प्रयोग भएको भन्दै निर्माण प्रारम्भदेखि नै स्थानीयले विरोध गर्दै आएको सो सडक निर्माण सम्पन्न भइसक्दा पनि विवाद नटुङ्गिएको अवस्थामा सडकमा कालेपत्रे उप्किएर जताततै खाल्डै–खाल्डा परेको छ ।

१ मिटर पश्चिम र १.२५ मिटर पूर्व साइडमा ड्रेनसहित ५० फिट मापदण्डको सडक निर्माण गर्न शुरु गरे पनि शुरुवाती चरणबाट नै चरम लापरबाही भएको भन्दै विवादित बनेको सो सडक निर्माणकै क्रमबाट उप्किन शुरु भएको थियो ।

शहरी विकास आयोजना विराटनगरका इञ्जिनियर रुद्रनारायण दासले निर्माण हुँदै गर्दा नै कालोपत्रे उप्किन थालेपछि तत्काल काम रोक्न भने पनि ठेकेदारले जबरजस्ती काम गरेर निर्माण सम्पन्न गरेको थियो । निर्माणका क्रममा सडकको बेस र सव–बेसमा अग्लो–होचो हुनुपर्नेमा त्यो पनि नभएको पाएपछि दासले तत्काल काम रोक्न भनेका थिए । कालोपत्रे गर्न प्रयोग भएको कच्चा पदार्थ पनि कमसल प्रयोग भएको भन्दै कालोपत्रे हुँदै गर्दा इञ्जिनियर दासले तत्काल काम रोक्न भने पनि जबरजस्ती गरेपछि निकासा हुनुपर्ने बजेटमा रोक लगाएपछि सुधार गर्ने नामका केही स्थानमा झारा टार्ने काम भए पनि अधिकांश स्थान त्यतिकै रहेको छ ।

ठेकेदारले सडकको दायाँ–बायाँ निर्माण गरेको ड्रेनमा निर्माणका क्रममा मजदुर आउँदा सामान्य सिमेण्ट र बालुबा नाप्ने पनि टिनसमेत ठेकेदारले मजदुरलाई उपलब्ध नगराएको, कमसल सामग्रीको प्रयोग गरेको र मापदण्ड विपरीत काम गरी नाफामुखी काम गरेको भन्दै शहरी विकासका इञ्जिनियर दास र धरान उपमहानगरपालिकाको तर्फबाट कार्यवाहक मेयर मञ्जु भण्डारीले अनुगमन गरेका थिए ।

भुइँमा सोलिङ गर्दा पनि ढ्ङ्गाको प्रयोग नै नगरेको, सोलिङ बसाउनलाई लगाइने धुर्मुस समेत ठेकेदारले कामदारलाई उपलब्ध नगराएपछि स्थानीयले आफूसँग भएका औजारहरू दिएको स्थानीय बताउँछन् । साधारण औजारसमेत ठेकेदारले मजदुरलाई उपलब्ध नगराएको, ड्रेन छोप्न प्रयोग भएका स्ल्याव पनि कमसल हुनुका साथै मिलाएर नराखिएकोले पैदलयात्री हिँड्दा ठोक्किने र भाँच्चिने गरेको स्थानीयको भनाइ छ ।

अनुगमन समिति बनाइएको भए पनि ठेकेदारले सबैलाई अटेर गरेर मनपरी गरेको कारण जताततै खाल्डो परेको अनुगमन समितिका अध्यक्ष कैलाश अग्रवालले बताए । असारमा कालोपत्रे गरिएको सो सडकमा पानी ड्रेनमा खसाउन बनाइएका प्वालहरू पनि सडकभन्दा अग्लो भएकाले सडकको पानी ड्रेनमा नखस्दा कालोपत्रेमा प्रयोग भएका कमसल कङ्क्रिट सजिलै बगाउने गरेको उनी बताउँछन् ।

खाल्डै–खाल्डाका कारण साना सवारी साधन अनियन्त्रित भई दुर्घटना हुनुका साथै धुलो उड्नाले पसलमा सजाएर राखेका सामान धुलैधुलो बनाइदिने गरेको स्थानीय व्यापारीको भनाइ छ । खाल्डोका कारण साना सवारीहरू अनियन्त्रित भई दुर्घटनाको जोखिम बढ्नुका साथै सवारीको पार्टपुर्जाहरू पनि बिग्रने सवारी चालक युवराज ढकाल बताउँछन् ।

टेण्डर रकमभन्दा ३८ प्रतिशत कममा ठेक्का लिएको सो सडकमा ठेकेदारको चरम लापरबाही भएकोले निकासा रोक्का गरेपछि केही स्थानमा सुधार गरेको र अन्य सुधार गर्नुपर्ने ठाउँमा पनि सुधार भएपछि मात्र निकासा गरिने शहरी विकास आयोजना विराटनगरले जनाएको छ ।