धनकुटा । धनकुटाको पाख्रीबास वजारमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जना व्यक्तिहरुलाई नगद र ताससहित वुधवार नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार पाख्रीबास नगरपालिका-४, पाख्रीबास बजारस्थित डिपिन गौतमको घरकोठामा तासजुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।
प्रहरी निरीक्षक रामप्रसाद खनालको कमाण्डमा खटिएको टोलीले तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले घटनास्थलबाट नगद ४१ हजार ५ सय २७ रुपैयाँ र एक बुक खुला तास बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेमा पाख्रीबास नगरपालिका-४ का २४ वर्षीय भीम बसेल र चितवनको भरतपुर महानगरपालिका-७ का ३० वर्षीय, पाख्रीबास नगरपालिका-२ का ३७ वर्षीय टेकनाथ अधिकारी, ३६ वर्षीय नवराज मगर, २७ वर्षीय डिपिन गौतम, ४० वर्षीय ललित राना, ४८ वर्षीय चन्द्रबहादुर राना, २९ वर्षीय निरज श्रेष्ठ, २८ वर्षीय दीपक अधिकारी, ५० वर्षीय धनबहादुर मगर र ३२ वर्षीय तोर्ण मगर रहेका छन ।
पक्राउ परेका ११ जनालाई जुवा खेल्न तथा सट्टेबाजी गर्न नहुने कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । यस अघि पनि गत महिना तासजुवामा सम्लग्न व्यक्तिहरुलाई धनकुटा नगरपालिका वडा नं. १ हिले वजार र चौबिसे गाउँपालिका वडा नं.६ राजारानी बजारबाट प्रहरीले १८ जनालाई पक्राउ गरेको थियो ।

































