धरान । गरिमा डान्स सेण्टर धरानको देउसी २०७६ बिहीबार साँझ बृहत् साङ्गीतिक कार्यक्रमका साथ समापन भएको छ । धरान–९ आचार्य लाइनस्थित गरिमाको कार्यालयअगाडि बृहत् साङ्गीतिक कार्यक्रम गरी देउसी कार्यक्रमको समापन गरिएको हो ।

पूर्वका प्रचलित नृत्य पूर्वेली समला मारुनी नृत्यबाट शुरु भएको सो कार्यक्रममा लिम्बू जातिको हाक्पारे, पश्चिमको राना थारुहरूको सखिया, याक्खा जातिको डोकेनी नृत्य÷साङ्दाङ लाकसहित, नेपाली फिल्मी, कन्ट्याम्प्ररी र हिन्दी मोडर्न, आइटमलगायतका नृत्यसमेत प्रस्तुत गरिएको थियो । अत्यधिक दर्शकको भीडमाझ भएको उक्त देउसी समापन कार्यक्रममा गरिमाको प्रत्येक नृत्यले दर्शकको ताली र हुटिङ पाउन सफल भएको थियो ।

गोवद्र्धन पूजाको दिनबाट शुरु भएको गरिमाको देउसी धरानका विभिन्न वडासँगै इटहरी, भेडेटार (धनकुटा) र उदयपुरको बेलका नगरपालिकालगायतका स्थानमा साँस्कृतिक कार्यक्रम गरी समापन गरिएको गरिमाका सञ्चालक सञ्जु राईले बताइन् । हरेक वर्ष नेपाली साँस्कृतिक नृत्यलाई संरक्षण, प्रवद्र्धन र प्रचार–प्रसार गर्ने गरिमा डान्स सेण्टर धरानको चलनअनुसार यस वर्षको देउसीमा भने याक्खा जातिको डोकेनी नृत्य-साङ्दाङ लाकसहित लिम्बू जातिको हाक्पारे, पश्चिमको राना थारुहरूको सखिया, पूर्वेली समला मारुनी नृत्यलाई प्रस्तुत गरिएको गरिमाका प्रबन्ध निर्देशक तथा नृत्य निर्देशक मणिकुमार लिम्बूले बताए ।

नेपालका विभिन्न जातजातिको नृत्यलाई खोज अनुसन्धान गर्दै कलाकारद्वारा नृत्य प्रदर्शन गराउँदै आएको जनाउँदै नृत्य निर्देशक लिम्बूले सांस्कृतिक नृत्यलाई प्रदर्शन गर्दै प्रचार गर्ने अत्यन्तै राम्रो माध्यम देउसी कार्यक्रम भएको बताए । उनका अनुसार अन्य बेला कार्यक्रम आयोजना गर्दा आयोजकले मागेको नृत्यलाई मात्र प्रस्तुत गर्नुपर्ने बाध्यता भएकाले नेपाली सांस्कृतिक नृत्य प्रदर्शनीले स्थान नपाउने गरेको छ । तर देउसी कार्यक्रममा भने चाहे जत्तिको नेपाली सांस्कृतिक नृत्य लक्षित वर्ग, समुदायमाझ पस्कन पाइने उनले बताए ।