धरान / धरान उपमहानगरपालिकाका नयाँ निर्वाचित मेयर तिलक राईले आज पदभार ग्रहण गरेका छन् ।
विहान ११ बजे गणेशमान चौकस्थित गणेशमान सिंहको सासिकमा माल्यार्पण  र ११ः ३० बजे धरान–१९ स्थित हरियाली सामुदायिक बन परिसरमा रहेको पूर्व मेयर स्व. तारा सुब्वाको सालिकमा माल्यार्पण गरि पदभार ग्रहण गरेका हुन ।
उनले निर्धारित समयमा १२ः३० बजे पदभार ग्रहण गरेका थिए । पदभार ग्रहण पछि धरान उपमहानगरपालिकाको करको विषयमा उठेका कुरालाई आगामी नगरपरिषदमा कर समायोजनको विषय लगि कर समायोजन गर्ने पहिलो निर्णय गरेका छन् । नेपाली काङ्ग्रेसले यस अघि कर बढेको विरोधमा उपमहानगरपालिका घेराउ नै गरेको थियो ।
पदभार ग्रहण गदैं नव नियुक्त मेयर राईले आफुले पार्टी र व्यक्तिगत एजेण्डा नभएर समग्र नगरवासीको एजेण्डा लिएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हिजो नेकपा निर्वाचन परिचालन कमिटीले कर समायोजन गर्न संसदीय समितिलाई दिएको निर्देशनको पनि स्वागत गदैं पार्टीलाई धन्यवाद दिएका थिए ।
स्थानीय तहमा कुनै पक्ष र प्रतिपक्ष नहुने बताउदैं दलगत एजेण्डा भन्दा माथि उठेर जनताको काम गर्ने बताए । उनले निष्ठा र इमान्दारीतापूर्वक काम गर्नसमेत कर्मचारीहरुलाई निर्देशन दिएका छन् । ‘ढेड बर्ष देखि कार्यवहाक मेयर भएर काम गर्नु भएकी उपमेयर मञ्जु भण्डारी हुनुहुन्छ । सिंगो कर्मचारी संयन्त्र छ । जनताको अपेक्षा अनुसार उहाँहरुको सल्लाहा सुझावमा मेरो नेतृत्वमा अव धरान अगाडी बढ्छ ।’–पदभार ग्रहण गदैं मेयर राईले भने । पदभार ग्रहणलगतै उनले कार्यपालिका, महाशाखा प्रमुखलगायतसहितको बैठक बसेर जनताको काम विना ढिलासुस्ती निष्ठापूर्वक गर्न निर्देशन दिएका थिए ।