उदयपुर/ दुई दिनदेखि उदयपुरको शाही खोलाका बासिन्दाहरू झाडापखालाले बिरामी परेका छन् । त्रियुगा नगरपालिका–१६ को शाहीखोलाले सात परिवारका १४ जना झाडापखालाको बिरामी परेका हुन् ।

एकै गाउँका दुई बालबालिकासहित १४ जना झाडापखालाले बिरामी परेपछि वडाको पहलमा बिहीबार जिल्ला अस्पताल उदयपुर लगिएको छ ।

बिरामी परेका स्थानीय ७१ वर्षीया मनमाया बस्नेत, ६० वर्षीय पुष्पराज कार्की, ६० वर्षीया ढुण्डीमाया पौडेल, ४२ वर्षीय गणेश बुढाथोकी, ४० वर्षीया नरमाया कार्की, ४७ वर्षीया पवित्रा बुढाथोकी, २६ वर्षीय धु्रव बुढाथोकी, २१ वर्षीया अञ्जु कार्की, भूपध्वज कार्की, टीका कार्की, ६५ वर्षीया कमला पोखरेल, ६९ वर्षीय नरेन्द्र कार्की, रेवती कार्की, १३ वर्षीया मूना कार्की र १४ वर्षीय नवराज खड्काको जिल्ला अस्पतालमा उपचार भइरहेको त्रियुगा नगरपालिका–१६ का वडाध्यक्ष मानबहादुर राईले बताए ।

बिरामीहरूलाई पेट दुख्ने, झाडापखाला लाग्ने र वान्ता हुने गरेको छ । उनीहरूको जिल्ला अस्पताल उदयपुरको आकस्मिक उपचार कक्षमा राखेर उपचार भइरहेको छ । बेलुका सञ्चै खाना खाएर सुतेको तर एक्कासि झाडापखाला लागेको बिरामीहरूले बताएका छन् । सबैलाई एकै पटक झाडापखाला नलागी क्रमशः बढ्दै गएको स्थानीयबासीहरूले बताएका छन् ।

शुरुमा नरेन्द्र कार्कीमा देखिएको झाडापखाला एकपछि अर्को गर्दै गाउँ भरि नै फैलिँदै गएकाले अरूमा पनि सर्ने खतरा बढ्दै गएकाले चिकित्सकको टोली गाउँमा गई नियन्त्रणको पहल थाल्नु पर्ने वडाले जनाएको छ ।

अस्पतालले अहिलेसम्म झाडापाखाला हुनुको कारण पत्ता लागी नसकेको जनाएको छ । फुड पोइजन हो वा कलको पानी प्रयोग गर्ने भएकाले पानीको कारणले वा अन्य कुनै कारणले हो भन्ने कुरा स्थलगत अध्ययन र निरीक्षण गर्न स्थानीयले माग गरेका छन् ।