भण्टाबारी/ जिल्ला अस्पताल इनरुवा सुनसरीमा चिकित्सक नहुँदा सेवाग्राहीहरू सेवा नलिई फर्कने गरेका छन् ।

छात्रवृत्ति करारमा रहेका जिल्ला अस्पताल इनरुवा सुनसरीमा कार्यरत नौ जना चिकित्सकहरू अस्पताल नआउँदा सेवाग्राहीहरू निजी क्लिनिक धाउन बाध्य भएका छन् । चिकित्सक नहुँदा प्राथमिक उपचार गराउन अस्पताल आउने सेवाग्राहीलाई समेत रेफर गरिदिने गरिएको छ । जसले गर्दा आर्थिक अवस्था दयनीय भएका बिरामीहरूले सबैभन्दा बढी सास्ती खेप्नुपरेको छ ।

जाडो बढेसँगै दैनिक १ सय ५० देखि २ सयको हाराहारीमा जिल्ला अस्पतालमा उपचार गराउन आउने बिरामीहरू चिकित्सक अस्पताल नआउँदा निजी क्लिनिकमा जान बाध्य भएका छन् भने आकस्मिक सेवा लिन विराटनगर र धरान धाउने गरेका छन् । जनशक्तिसँगै जिल्ला अस्पतालमा भौतिक सुविधा, पर्याप्त औषधि र उपकरण हुँदाहुँदै चिकित्सक अस्पताल नआउँदा बिरामी मर्कामा परेका हुन् ।

जिल्ला अस्पतालका प्रमुखसमेत बिदा लिई काठमाडौंमा हुँदा जिल्ला अस्पतालको सेवा थप प्रभावित भएको छ । आइतबार जिल्ला अस्पतालमा उपचार गराउन आएका इनरुवा नगरपालिका–२ का सञ्जयकुमार मेहता, नूतन साह, श्वेता मेहतासहित दर्जनौं बिरामी चिकित्सक नआउँदा उपचार गराउन निजी क्लिनिकमा जान बाध्य भए ।

पटक–पटक आए पनि सेवा नपाएको गुनासो गर्र्दै श्वेता मेहताले जिल्ला अस्पतालबाट रेफर गर्ने काम मात्र भएको बताइन् । ‘जहिल्यै आउँदा चिकित्सक छैन, अन्तै जानू भनिदिन्छ’ उनले भनिन्, ‘अस्पतालमा चिकित्सक यसरी नै नबस्ने हो भने बन्द गरिदिए हुन्छ ।’

‘पैसा हुनेले त निजीमै उपचार गराउँछन्’ उनले गुनासो गर्दै थपिन्, ‘सरकारी अस्पतालमा त गरिब र निमुखा आउँछन् तर, यहाँ आउँदा डाक्टर नै भेटिँदैनन् ।’ चिसो बढेकोले बिरामीको चापसमेत बढेको समयमा सरकारी अस्पताल नआई सरकारी सेवा सुविधा लिने चिकित्सकहरूले निजी क्लिनिकमा समय दिने गरेको सेवाग्राही बताउँछन् ।

सरकारी अस्पतालमा चिकित्सक आए पनि अधिकांश हाजिर गरेर जाने गरेका छन् । सेवा लथालिङ्ग पारेर जिल्ला अस्पताल इनरुवामा कार्यरत नौ चिकित्सकहरू कोही क्वार्टरमै बस्ने गरेका छन् भने कोही सेटिङ मिलाएर सरकारी अस्पतालमा आउने बिरामीलाई निजीबाट सेवा दिने गरेका छन् ।

जिल्ला अस्पतालबाट निःशुल्क सेवा पाउने उद्देश्यले आएका बिरामी चिकित्सक नहुँदा निजी क्लिनिकमा महँगो शुल्क तिरेर सेवा लिन बाध्य छन् । स्वास्थ्य बिमा गरेका बिरामीले औषधिसमेत नपाएको गुनासो गरेका छन् ।

‘छात्रवृत्ति करारमा कार्यरत नौ जना चिकित्सकमध्ये कोही आएनन्’ नाम उल्लेख नगर्ने शर्तमा अस्पतालका एक कर्मचारीले भने, ‘कुनै कुनै चिकित्सक त २२–२३ दिनसम्म अस्पताल आउँदैनन्, क्वार्टरमै बस्छन्, कोही अन्तै निजी क्लिनिकबाट सेवा दिन्छन् ।’

चिकित्सकबाट सिक्नका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट जिल्ला अस्पतालमा आएका ६ जनाले बिरामीलाई रेफर गर्दै आएको उनले बताए । ‘रेफर पनि उनीहरूबाट हुँदैन, कुनै एकजना चिकित्सकको एनएमसी नम्बर हालेर रेफर गरिदिने गरेका छन्’–उनले भने ।