भद्रपुर/ झापाको मेची अस्पताल अस्त–व्यस्त बनेको छ । आकस्मिक कक्षदेखि बिरामी बस्ने वार्डसम्म भुस्याहा कुकुर पस्दा पनि अस्पतालमा खटिएका सुरक्षा गार्ड र प्रशासन बेखबर छन् ।

अस्पतालको वार्डभित्रै कुकुर आउने गरेको बिरामीको भनाइ छ । केही दिनअघि राति १२ बजे बिरामी सुतेकै वार्डमा दुईवटा भुस्याहा कुकुर आएर बेडमा बसिरहेको बिरामीहरूले बताए ।

यसअघि पनि अस्पतालको आकस्मिक कक्षमा भुस्याहा कुकुर छिरेको फोटोहरू सामाजिक सञ्जालमा भाइरल हुँदासमेत अस्पताल प्रशासनले त्यसलाई नियन्त्रणमा चासो नदेखाउँदा यस्ता घटना दैनिक दोहोरिन थालेको सेवाग्राहीको आरोप छ । त्यतिमात्र नभई नियमित सरसफाइमा चासो नदेखाउँदा अस्पतालमा फोहोरमैला थुप्रिन थालेको पाइएको छ । नियमित सरसफाइ नहुँदा सेवाग्राहीले सास्ती व्यहोर्नु परेको छ ।

अस्पताल प्रशासनले वार्षिक रूपमा टेण्डर आह्वान गर्दै सरसफाइको ठेक्का लगाउँदै आए पनि ठेकेदारसहित तलबमा राखेका स्थायी कर्मचारीले लापरबाहीपूर्ण काम गरेका कारण समस्या आएको हो । अस्पताल परिसरभित्र जथाभावी पानीका बोतल हुनु, गुट्खा खाएर थुक्नु, झारपात सफा नगर्नु, बगंैचाका बोटबिरुवा नकाट्नु, शौचालय सफाइ नगर्नु, बिरामी बस्ने बेड कक्षमा सरसफाइ नहुनु, धाराको पानी कोठामै चुहिनु, कोठाभित्रै भुस्याहा कुकुर पस्नुजस्ता समस्या रहेको पाइएको छ ।

अस्पतालले नियमित सरसफाइका लागि ७ जना स्थानीय कर्मचारी र ठेकेदारले समेत १६ जना कर्मचारी सरसफाइका लागि खटाएको छ । उनीहरूले सरसफाइमा चासो नदेखाई मासिक तलब मात्र बुझ्ने गरेकोले अस्पतालपरिसर दुर्गन्धित एवम् अस्त–व्यस्त बन्दै गइरहेको छ ।

शौचालय मात्र नभई बेडमा रहेको बिजुलीका स्विच र प्लग समेत बिग्रिएका पाइएको बिरामी र कुरुवाहरूले बताए । ‘पिउने पानी तताउनु प¥यो भने बाहिर जानुपर्छ, अस्पतालजस्तो ठाउँमा यस्तो हुँदा पनि मर्मत सम्भार गरेको देखिएन’–उनीहरूले गुनासो गर्दै भने । शौचालयको दुर्गन्ध वार्डसम्म आउँदा बस्नै समस्या भइरहेको उनीहरूको भनाइ छ ।

अस्पतालमा थुप्रिएको फोहोरमैलाको उचित व्यवस्थापन र सरसफाइ नहुँदा बिरामीको स्वास्थ्यमाथि खेलवाड भइरहेको भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापा क्षेत्र नम्बर ३ क्षेत्रीय समन्वय कमिटीले केही दिनअघि अस्पतालपरिसभित्र सरसफाइ गरेको थियो ।

मेची अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेल र अस्पतालका मेसु पिताम्वर ठाकुरकै सहभागितामा भएको सरसफाइ कार्यक्रममा पार्टीका स्थानीय, क्षेत्रीय तथा जिल्ला नेताहरू सहभागी थिए । सरसफाइका क्रममा सङ्कलित फोहोरमैला देखेर उनीहरू आफै छक्क परेका थिए ।

बिरामीको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने अस्पतालमा थुप्रिएको फोहोरमैला व्यवस्थापन नहुँदा जनप्रतिनिधिसहित नेकपाका नेता तथा कार्यकर्ताहरूले यस बारेमा सञ्चालक समितिसहित प्रशासन पक्षलाई ध्यानाकर्षणसमेत गराएका थिए ।

अस्पतालमा सरसफाइ नभएको व्यापक गुनासो उठेपछि सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेल र प्रदेश सांसद् वसन्त बानियाँले सरसफाइको रेखदेख गर्ने ठेकेदारका सुपरभाइजरलाई चेतावनी दिएका थिए ।

अस्पतालका मेसु डा. पिताम्वर ठाकुरले अस्पतालको सरसफाइप्रति आफूलाई पनि चित्त नबुझेको प्रतिक्रिया दिएका छन् । सरकारले अस्पतालको सरसफाइमा बजेट नछुट्याएको जनाउँदै उनले रकम नहुँदा समितिको निर्णयबमोजिम सरसफाइको ठेक्का लगाएर काम गराउँदै आएको बताए ।