विराटनगर / विराटनगर महानगरपालिकाको उपप्रमुख इन्दिरा कार्कीको संयोजकत्वमा रहेको न्यायीक समितिले मुद्दाको सुनवाइन नगरिदिदा छिमेकीले घर र पर्खाल भत्काइदिएर पीडित बनेकी विराटनगरकी एक महिला क्षतिपूर्ती पाउँनबाट बन्चित भएकी छिन् ।
महानगरपालिकाको न्यायिक समितिमा उजुरी दर्ता भएको लामो समय बितिसक्दा पनि मुद्दाको सुनवाइ नभएपछि विराटनगर–५ मुनालपथकी पूजा खतिवडा (दाहाल) ले क्षतीपूर्ती पाउँनबाट बन्चित हुनुपरेको हो ।
गत साउनमा विराटनगर ५ मुनालपथस्थित रोनक अग्रवालले घर निर्माणको काम सुरु गरेका थिए । अग्रवालले घरको ‘जग’ खन्न डोजर चलाउँदा पूजाको जस्तापाताको छानो रहेको तीन कोठा रहेको घर र पर्खाल पूर्ण रुपमा भत्किएको थियो । घर र पर्खाल भत्काएपछि सोही दिन अग्रवालको घर निर्माणको ठेक्काको जिम्मा पाएको ‘उत्तरा कन्ट्रक्सनका कन्सलटेन्सी आलोक झा, टोल संगठनका सचिब दिपक सुवेदीको रोहबरमा अग्रवालले पूजालाई ४ लाख ५० हजार रुपैयाँ दिने छलफलबाट सहमति भएको थियो ।
अग्रवालले मंसिर १ गते भित्रमा पूजालाई क्षतिपूर्ती रकम दिने मौखिक सहमित गरेका थिए । सहमति भएको मितिमा अग्रवालले क्षतिपूर्ती रकम नदिएपछि पूजाले गत मंसिर ८ गते विराटनगर महानगरपालिको न्यायिक समितिमा उजुरी दर्ता गराएकी थिइन् । विराटनगर महानगरपालिकाको उपप्रमुख इन्दिरा कार्कीलाई भेटेर न्यायिक समितिमा उजुरी दर्ता गरेको पूजाले बताइन् । उजुरी दर्ता भएको एक महिना भन्दा बढी समय बितिसक्दा पनि न्यायिक समितिबाट न्याय नपाएको उनले बताइन् ।
‘अहिले उल्टै उजुरी फिर्ता लिन दाबाव दिने गरेका छन्,’ पीडित पूजाले मंगलबार विराटनगरमा संचारकर्मीहरुसँग आफ्नो समस्या राख्दै उनले भनिन्, ‘क्षतिपूर्ती दिलाइ दिन दैनिक जसो विराटनगर महानगरपालिका धाउँने गरेको छु । अहिलेसम्म कैतैबाट छिमेकिले डोजर लगाएर भत्काइदिएको घरको क्षतीपूर्ती पाएको छुइन्ँ ।’ न्यायिक समितिको संयोजक तथा विराटनगर महानगरपालिको उपप्रमुखले पहुचवाला अग्रवालको पक्षमा लागेको पूजाको आरोप छ । ‘न्यायिक समितिबाट क्षतीपूर्ती नपाएपछि वडा प्रहरी कार्यालय क विराटनगरमा पनि पुगेको थिएँ । प्रहरी कार्यालयमा दुवै पक्षलाई बोलाएर छलफल हुदै थियो,’ उनले भनिन्, ‘त्यस क्रममा इनिस्पेक्टरलाई उपप्रमुखले फोन गरेर न्यायिक समितिमा परेको उजुरीको मुद्दा आफनो कार्य क्षेत्रमा पर्ने भएकोले त्यहाँ त्यस विषयमा छलफल नगर्नु भन्नुभयो । प्रहरीले पनि उजुरी न्यायीक समितिमा परेकोले उत्तै जान आग्रह गर्नुभएको थियो ।’ पीडक अग्रवालको प्रभावमा परेर उपप्रमुखले अहिलेसम्म मुद्दाको सुनवाइन नगरिदिदा क्षतिपूर्ती पाउँनबाट बन्चित हुनुपरेको पीडितको भनाई छ ।
पूजाले क्षतिपूर्ती नपाएपछि गत मंसिर १८ गते महानगरपालिको घर नक्सा शाखमा गएर अग्रवालको निर्माणधिन घर रोक्का गरिदिन उजुरी पनि गरेकी थिइन् । उनले गरेको उजुरी दर्ता पनि भयो । ‘पहुचवाला अग्रवालकोे घरको जग खन्ने क्रममा निर्माणको रोक्का गर्न उजुरी गरेको थिए । निर्माणको काम अहिले धमाधम भइरहेको,’ उनले भनिन् । अहिले पीडक पक्षले ज्यान मार्ने धाक, धम्की दिने गरेको उनको आरोप छ । ‘घर र पर्खाल भत्काइदिएपछि आफ्नो जग्गा वरीपरि तारबार लगाउन सुरु गरेका थिए,’ उनले भनिन्, ‘अग्रवालले गुण्डार्दीमा संलग्न समूह ल्याएर सिमानामा लगाएर तार र जालीहरू उखालेर फालिदिए । धाक, धम्की पनि दिएर गए ।’ अग्रवालको समूहले धम्की दिएपछि पूजाले जिल्ला प्रसान कार्यालय मोरङमा सुरक्षा गरिदिन गत मंसिर ८ गते उजुरी गरेकी थिइन् ।
यता रोनक अग्रवालले आफ्नो घर निर्माणको क्रममा छिमेकीको पर्खाल भत्कीएको स्वीकार गरेका छन् । ‘क्षतिपूर्ती दिने सहमति पनि भएको थियो,’ उनले भने, ‘उहाँ पूजा मुद्दाको प्रक्रियामा महानगरपालिका जानुभएको छ । अब महानगरपालिकाले छिनोफानो गर्दछ । महानगरपालिकाकोे न्यायिक समितिले गरेको आदेशको पालना गर्दछु ।’
विराटनगर महानगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिको संयोजक इन्दिरा कार्कीले यस मुद्दाको प्रतिवादीसँग प्रतिउत्तर माग्ने काम भइरहेको बताइन् । ‘दुवै पक्षलाई राखेर पनि एक पटक छलफल भएको थियो,’ उनले भनिन्, ‘प्रतिवादी अग्रवालले पूजाको भत्काइदिएको पर्खाल निर्माण गरिदिने हुनुभएको थियो । तर पीडित पूजा आफैले पैसाँ दिनुपर्ने माग राख्नुभयो ।’ अहिले पीडित सम्पर्कमा नआएको उप्रमुख कार्कीको भनाई छ । पीडित र पीडकलाई छलफलमा राखेर समस्याको सामधान गरिन आफु लागि पर्ने उनको भनाई छ ।