मुस्ताङ । सन् २०२६ को १० महिनामा दुई लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार जनवरीदेखि अक्टोबरसम्म सार्क राष्ट्रबाट दुई लाख ६२ हजार १२ जना र अन्य राष्ट्रबाट २८ हजार २७५ जना पर्यटक मुस्ताङ पुगेका छन् ।

सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्म एक लाख ६१ हजार १४१ जना सार्क तथा अन्य राष्ट्रका पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । त्यसको तुलनामा सन् २०२६ को १० महिनामै पर्यटकको सङ्ख्या ७७.६२ प्रतिशतले बढेको छ ।

एक्याप कार्यालयका प्रमुख राजेश गुप्तका अनुसार सन् २०२५ को तुलनामा सन् २०२६ का दुई महिना बाँकी रहँदै पर्यटकको सङ्ख्या एक लाख २३ हजार ४७५ ले वृद्धि भएको छ ।

एक्याप जोमसोमको तथ्याङ्कअनुसार सन् २०२६ को १० महिनामा सार्क राष्ट्रबाट आउने पर्यटकको सङ्ख्या अघिल्लो वर्षको तुलनामा ९७ प्रतिशतले बढेको छ । गुप्तका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष दुई महिना बाँकी रहँदै सार्क राष्ट्रबाट आउने पर्यटकको सङ्ख्या एक लाख २९ हजार १४६ ले बढेको हो ।

यद्यपि, अन्य राष्ट्रबाट आउने पर्यटकको सङ्ख्यामा भने कमी आएको छ । सन् २०२५ को १२ महिनामा २३ हजार ६०४ जना पर्यटक अन्य राष्ट्रबाट मुस्ताङ पुगेका थिए । सन् २०२६ का दुई महिना बाँकी रहँदा अघिल्लो वर्षको तुलनामा चार हजार ६७१ जना कम पर्यटक आएका छन् । यो अघिल्लो वर्षको तुलनामा १६.५ प्रतिशतले कमी हो ।

एक्याप प्रमुख गुप्तले नोभेम्बर र डिसेम्बर दुई महिना बाँकी रहेकाले चालु वर्षमा पर्यटकको सङ्ख्या गत वर्षभन्दा कम नहुने बताए ।

यस वर्ष रसुवागढीमा आएको विनाशकारी बाढी, जोमसोम–कोरला सडक अवरुद्ध हुनु, हवाई सेवा स्थगित हुनु र प्रतिकूल मौसमका कारण मुस्ताङको पर्यटन क्षेत्रमा केही असर परेको थियो । यद्यपि, सन् २०२५ को तुलनामा सन् २०२६ मा पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको देखिएको छ ।

एक्याप जोमसोमका अनुसार सार्क राष्ट्रबाट आउने पर्यटकको सङ्ख्या करिब शतप्रतिशत बढ्नुमा भारतीय पर्यटकको आगमन मुख्य कारण रहेको छ । मुक्तिनाथ मन्दिर दर्शनका लागि आउने भारतीय पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको एक्यापले जनाएको छ ।

त्यसैगरी, अन्य राष्ट्रबाट मुस्ताङ पुग्ने पर्यटकमध्ये राउण्ड अन्नपूर्ण पदमार्ग हुँदै मनाङबाट थोरङ्ला पास पार गरेर आउने पर्यटकको सङ्ख्या उल्लेख्य रहेको एक्यापले जनाएको छ । रासस