पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकाको ४ नम्वर र ७ नम्वर वडा कार्यालयले आफ्नो वडाका सामुदायिक विद्यालयका साना कक्षाका विद्यार्थीलाई स्वेटर वितरण कार्यक्रम अघि सारेको छ ।

४ नम्वरका जेहेन्दार तथा विपन्न बालबालिकालाई लत्ताकपडा वितरण कार्यक्रम अन्तर्गत स्थानीय सरस्वती आधारभूतमा ५० जना, सिद्धार्थमा ३० जना, जनकल्याणमा ४० र भागिरथ माविमा ३० जना विद्यार्थीलाई स्वेटर प्रदान गरिएको हो ।

वडाध्यक्ष गोविन्दवहादुर भण्डारीको अगुवाईमा वडा समिति तथा कर्मचारीहरुले अंग्रेजीमाध्यममा पठनपाठन गर्ने नर्सरीदेखि युकेजीसम्मका विद्यार्थीलाई स्वेटर वितरण गरेका हुन् । वडाले सो शिर्षकमा ५० हजार वजेट विनियोजन गरेको छ ।

७ नम्वर वडाले बालबालिका शिर्षक अन्तर्गत १ लाख रुपैयाँ बजेटमा चन्द्रकिरातेश्वर, बालकल्याण र दुर्गा माविका कक्षा ५ सम्मका २ सय ८० जना विद्यार्थीलाई स्वेटर प्रदान गरेको वडाध्यक्ष कपिलमणि ढकालले जनाए ।

उता, वडा नम्वर ९ को सिंहवाहिनी माविका विद्यार्थीका लागि प्रतिभा समाज सुधार युवा क्लब र उज्यालो टोल सुधार समूहले स्वेटर र ट्याकसुट वितरण गरेको छ ।