बिर्तामोड/ मकैमा उच्च प्रतिफल आउने भएपछि झापाका कृषक हाइब्रिड मकै खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

सरकारले मकै जोन घोषणा गरेर अनुदान दिन थालेपछि कृषकहरू मकै खेतीतर्फ आकर्षित भएका हुन् । झापा गाउँपालिकाका ८० प्रतिशत कृषकले व्यावसायिक मकै खेती गर्न थालेका हुन् । सो गाउँपालिकाले मकै जोन घोषणा गरेपछि कृषक यस खेतीतर्फ आकर्षित भएका हुन् । मकैबाट राम्रो आम्दानी हुन थालेपछि यसको खेतीप्रति कृषकको आकर्षण बढ्दै गएको हो । झापा गाउँपालिका–४ का गणेशप्रसादले १ बिघा क्षेत्रफलमा मकै लगाएका छन् ।

प्रति बिघा १ सय ५० मन मकै उत्पादन हुने गरेको गणेशले बताए । एक बिघाबाट प्रतिवर्ष १ लाख रुपैयाँ नाफा हुने उनी बताउँछन् । विगत ८ वर्षदेखि मकै खेती गर्दै आएका गणेशले ६६०७ जातको मकै लगाएका छन् । उत्पादित मकै खरिदका लागी विरगञ्ज, काठमाडौंलगायतका व्यापारी आउने गरेको गणेश बताउँछन् ।

झापा गाउँपालिका–३ का देवकुमार गणेशले हाब्रिड मकै उत्पादन गर्दै आएका छन् । यो वर्ष उनले १ बिघा १० कठ्ठा क्षेत्रफलमा मकै लगाएका छन् । गणेशले खर्च कटाएर वार्षिक १ लाख ५० हजार रुपैयाँ फाइदा हुने गरेको बताए । मकैको बजारीकरणका लागि कुनै पनि समस्या नभएको उनी बताउँछन् । ‘मकै किन्न व्यापारी घरसम्मै आउँछन् । नेपालमा मकैको उत्पादन कम छ, बिक्रीको लागि समस्या छैन’ उनले भने । अन्य बाली धान, तोरी, गहुँको तुलनामा मकैबाट बढी फाइदा हुने गणेश बताउँछन् ।

‘कम लागत र कम श्रममा मकै उत्पादन हुन्छ’ गणेशले भने, ‘धान पछिको दोस्रो महŒवपूर्ण बाली मकै भनिन्छ तर, धानको दोब्बर नाफा मकैबाट हुन्छ ।’ उनले ५ वर्षदेखि मकै खेती गर्दै आएका छन् । सरकारले गत आर्थिक वर्षदेखि झापामा मकै जोन कार्यक्रम सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित उक्त जोन झापा गाउँपालिका र कनकाई नगरपालिकामा सञ्चालनमा ल्याइएको हो ।

मकै जोन सञ्चालनका लागि चालु वर्ष सङ्घीय सरकारबाट १ करोड २४ लाख ६५ हजार रुपैयाँ बजेट विनियोजन भएको झापा जिल्ला जोन परियोजना कार्यान्वयन इकाइका प्रमुख रवीन्द्र सुवेदीले जानकारी दिए । झापा गाउँपालिका–६ र कनकाई नगरपालिका–५ मा गरी ५ सय हेक्टर क्षेत्रफलमा मकै जोन सञ्चालन गरिएको सुवेदीले बताए । झापामा प्रत्येक वर्ष २ लाख ८ हजार मेट्रिक टन मकै उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । झापामा बसन्ते मकै ३१ हजार हेक्टर र हिउँदे मकै ८ हजार हेक्टर र बर्खे मकै ९ सय हेक्टरमा उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र झापाको तथ्याङ्कले देखाउँछ ।

नेपालमा वार्षिक १० हजार टन हाइब्रिड मकैको बीउ आवश्यक पर्दै आए पनि नेपालको उत्पादन चार टन मात्र रहेको बाली अनुसन्धान कार्यक्रम रामपुरको तथ्याङ्कमा उल्लेख छ । बाँकी बहुराष्ट्रिय कम्पनीका मकैको बीउ नेपाल भित्रिने राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख डा.केशवबाबु कोइरालाले बताए । नेपालमा ९ लाख ५८ हजार हेक्टर जमिनमा मकै खेती गर्न सकिन्छ ।

गत वर्ष उत्पादन भएको ४ टन हाइब्रिड मकैमध्ये झापाको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले नमूना एकीकृत खेतीमार्फत् २.२ टन मकै उत्पादन गरेको थियो । देशभरमा चार टन उत्पादन भएको रामपुर १० जातको बीउमध्ये समूहले मात्र दुई टन उत्पादन गरेको एकीकृत खेतीका अध्यक्ष वेदनिधि चापागाईंले जानकारी दिए । बाँकी २.५ टन मकै लुम्बिनी सीड उत्पादन कम्पनीले गरेको थियो ।

नेपालमा विकास भएका हाइब्रिड मकैको उत्पादन प्रतिहेक्टर सातदेखि नौ टनसम्म रहेको बताइएको छ । नेपालको भौगोलिक हावापानी सुहाउँदो हाइब्रिड जातको मकैको बीउ नेपालमै विकास भइसकेकाले मकैको उत्पादन बढाउन अब यसैलाई प्राथमिकतामा राख्नुपर्ने भए पनि यस विषयमा सरकार गम्भीर बन्न नसकेको आरोप डा.कोइरालाले लगाए ।

‘चालू आर्थिक वर्षमा नेपाल कृषि अनुसन्धान परिषद्ले हाइब्रिड मकैको विकास, अध्ययन र अनुसन्धानका लागि १२ लाख रुपैयाँ बजेट विनियोजन ग¥यो, उक्त सीमित बजेटले हाइब्रिड मकैको उत्पादन कसरी बढाउने’ कोइरालाले भने, ‘सरकारले हाइब्रिड जातको मकैको उत्पादन बढाउन लगानी वृद्धि, दक्ष जनशक्तिको व्यवस्थापन गर्न आवश्यक छ ।’

नेपालको मकै उत्पादन प्रतिहेक्टर २.५ टन छ । नेपालले विकास गरेको हाइब्रिड जातको मकैको उत्पादन ७ देखि ९ टनसम्म रहने राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले जनाएको छ । तराईका जिल्लामा ७५ हजार हेक्टरमा मात्र हाइब्रिड जातको मकै लगाइने गरिएको तथ्याङ्क रहेको छ ।