पथरीशनिश्चरे / मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले सञ्चालन गरेको निःशुल्क शिविरमा २४ हजार बढी पशुलाई उपचार गरिएको छ ।
नगरको पशुपंक्षी शाखामार्फत सञ्चालित कार्यक्रम अन्तर्गत पशुपंक्षी शाखा र पाराभेटेरीनरी एसोशियसन नगर समितिका प्राविधिकहरुबाट शिविरको प्राविधिक पक्ष अघि बढेको थियो । जसमा १४ हजार बढी पशुको विभिन्न उपचार तथा १० हजार पशुलाई खोप प्रदान हुँदा कुल २४ हजार पशु लाभान्वित भएका छन् ।
२ दिने शिविरमा मंगलबार वडा नम्वर ३ र ७ को लामाटोलमा सम्पन्न शिविरमा ७ सय बढी कृषकहरु सहभागि भई ८ हजार ४ सय १४ पशुको मेडिकल उपचार गराएका छन् । ५ सय १४ लाई खोप, ३ सय २७ लाई प्रयोगशाला परीक्षण, १ सय २४ लाई सामान्य शल्यक्रिया, ५४ लाई गाइनोक्लोजिकल उपचार गराइएको छ । जसमा १४ पशुको वन्ध्याकरण समेत भएको शाखा प्रमुख हेमचन्द्र दहालले जनाए । कार्यक्रम कार्यपालिका सदस्य एवम् आर्थिक विकास समिति सदस्य मैनाकुमारी राई लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
कार्यक्रमको पहिलो दिन सोमवार वडा नम्वर ८ शुक्रवारेमा सम्पन्न शिविरमा ४ सय बढी कृषक सहभागि भई ५ हजार ७ सय १५ पशुलाई मेडिकल उपचार, ७ सय ६० लाई खोप, २ सय ५४ लाई सामान्य शल्यक्रिया र २ सय १४ लाई प्रयोगशाला परीक्षण गराइएको पशुपंक्षी शाखाका पर्वत शाहले जनाए । त्यहाँ ५१ वटा गोरु, ३६ वटा बोका र १६ वटा वंगुरको वन्ध्याकरण गरिएको थियो ।
यसैगरी, शाखाले १० वटै वडामा गरी ६ हजार ४ सय गाइभैंसीसहितका पशुलाई खोरेतको खोप र ३ हजार ५ सय वंगुरमा स्वाइन फिवरको खोप लगाएको छ ।