उर्लाबारी/ कोरोना भाइरसको त्रासका कारण नगरका शैक्षिक कार्यक्रमहरू दुई साताअघि सारिएका छन् । वार्षिक कार्यक्रमभन्दा अघि परीक्षा सञ्चालन गर्दा शैक्षिक कार्यक्रम प्रभावित बनेको विद्यालयहरूले जनाएका छन् ।
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मङ्गलबार कोरोना भाइरसको सङ्क्रमण विश्वका धेरै देशहरूमा फैलिएकोले नेपालमा पनि फैलिन सक्ने त्रासका कारण चैत्र ५ गतेसम्ममा देशभरिका संस्थागत र सामुदायिक विद्यालयहरूलाई वार्षिक परीक्षा गरी सक्न निर्देशन दिएको थियो ।
यसरी मन्त्रालयको निर्देशन तथा छाता सङ्गठनको सर्कुलरपछि बिहीबार उर्लाबारी नगर प्याब्सनको आकस्मिक भेलाले कक्षा–९ सम्मको विद्यालयको वार्षिक परीक्षा फागुन २८ गतेदेखि शुरु गरी चैत्र ५ गतेसम्ममा सक्ने निर्णय गरिएको नगर प्याब्सनका सचिव दिनेश पोख्रेलले बताए ।
विद्यालयको शैक्षिक क्यालेण्डरअनुसार चैतको दोस्रो साताबाट मात्र विद्यालयको वार्षिक परीक्षा शुरु गर्ने भए पनि सम्भावित कोरोनो भाइरस फैलिन सक्ने त्रासका कारण भीड कम गर्न दुई साताअघि नै परीक्षा शुरु गरिएको भेलामा सहभागी विद्यालयका संस्थापक तथा प्रिन्सिपलले बताएका छन् ।
नगरमा सामुदायिक र संस्थागत गरी ६० वटा विद्यालयहरू छन् । दुई साताअघि परीक्षा सञ्चालन गर्दा विद्यार्थी र शिक्षकहरूलाई मानसिक तनावसँगै शैक्षिक क्यालेण्डर प्रभावित भए पनि नेपाल सरकारले दिएको निर्देशनलाई पालना गर्नु गराउनु सबैको दायित्व भएको बताउँदै विद्यालयले विद्यार्थीहरूलाई कोरोना भाइरसको सङ्क्रमणका बारेका समेत आधारभूत चेतना फैलाउने निर्णय गरेको नगर प्याब्सनले जनाएको छ ।
उर्लाबारी नगरपालिकाका नगरप्रमुख खड्ग फागोले नगरबासीलाई सम्भावित सङ्क्रमणबाट जोगाउन स्वास्थ्य शाखालाई सचेतना कार्यक्रम नगरभित्र गर्न र धेरैजना भेला हुने सबै कार्यक्रम समेत नगर्न निर्देशन दिएका छन् ।