इटहरी/ कोरोनाको त्राससँगै बजारमा अहिले चिनियाँ स्याउको कालोबजारी शुरु भएको छ । बजारमा स्याउको अभाव देखाउँदै कालोबजारी शुरु भएको हो । चीनबाट आउने फुजी स्याउ आउन छोडेको भन्दै फलफूल व्यापारीहरूले मनपरी मूल्य लिन थालेका हुन् । चीनबाट आउने स्याउ बन्द भएको भन्दै व्यापारीहरूले मूल्य वृद्धि गरेका छन् ।

चीनबाट शुरु भएको कोरोना भाइरसको कारण बजारमा स्याउ अभावको बताउँदै फलफूल व्यवसायीहरूले मनोमानी मूल्य लिइरहेको पाइएको छ । इटहरी बजारमा चिनियाँ फुजी स्याउसँगै अन्य फलफूलको मूल्यसमेत अत्यधिक बढाएर बिक्री गरिरहेका छन् । अहिले इटहरीको मुख्यचोक आसपासमा व्यापारीहरूले आफूखुशी मूल्य वृद्धि गरेका छन् ।

कोरोनाको बहाना बनाउँदै फलफूल व्यापारीहरूले मनपरी मूल्य असुलिरहेका छन् । इटहरीको चोकमा लामो समयदेखि ठेलामा फलफूल व्यापार गर्दै आएका सन्तोष महतोले डिलरबाटै मूल्य बढेर आएको कारण स्याउको मूल्य बढाउनु परेको बताए । प्रतिकेजी २ सय ८० देखि ३ सयमा बेच्दै आएको फुजी स्याउ ४ सय रुपैयाँमा बेच्न थालेको महतोको भनाइ छ ।

स्याउसँगै अङ्गुर लगायतका फलफूलको मूल्य ह्वात्तै बढेको इटहरीमा स्याउ किन्दै भेटिएका उपभोक्ता सरिता लिम्बूले बताइन् । प्रतिकेजी ३ सयमा किन्दै आएको स्याउ केहीदिनयता ४ सय पुगेको भन्दै बजार अनुगमन गर्नुपर्ने सुझाव दिइन् । बजारमा मनपरी मूल्य रोक्न लिम्बूले स्थानीय सरकारलाई आग्रहसमेत गरिन् ।

अहिले फलफूल व्यापारीहरूले विभिन्न कारण देखाउँदै मूल्य बढाइरहेको इटहरीका चियापसले भक्तबहादुर बस्नेतले गुनासो गरे । अहिले सबैभन्दा धेरै मूल्य व्यापारीहरूले स्याउमा बढाएको भन्दै आपत्ति जनाए । अहिले बजारमा भइरहेको बजार मूल्यमा स्थानीय सरकारले चासो देखाउनुको विकल्प नभएको उनी बताउँछन् ।

बजारमा भइरहेको कालोबजारीको विषयमा सरकार गम्भीर बन्न सर्वसाधारणले आग्रह गरेका छन् । इटहरी उपमहानगरपालिकाले बजार अनुगमनलाई झारो टार्ने मात्र काम गरेको जिल्ला फुटबल सङ्घका अध्यक्षसमेत रहेका इटहरीका केशव कार्कीले बताए । बजारमा भइरहेको मूल्य वृद्धिमा सरकारले विशेष ध्यान दिनुपर्ने उनको माग छ ।

इटहरीको मुख्य चौकमा फलफूल व्यापार गर्दै आएका जीवन मण्डलले आफूलाई स्याउ दिने डिलरबाटै मूल्य बढेर आएको कारण मूल्य बढाएर बेच्न बाध्य भएको बताए । अहिले बजारमा मूल्य १ सयदेखि १ सय ५० रुपैयाँ प्रतिकेजी फुजी स्याउको मूल्य बढेको मण्डल बताउँछन् । अहिले चीनबाट आउने स्याउ पाइन छोडेको कारण मूल्य बढेको उनको भनाइ छ ।