बिर्तामोड । कोरोना संक्रमणको जोखिम कम गर्नं झापाका ब्यवसायीले नयाँ उपाय अपनाउन शुरु गरेका छन् । औषधी तथा दैनिक उपभोग्य बस्तुको बिक्री वितरणका क्रममा मानिसको भिड कम गर्न र दुरी कायम राख्न ब्यवसायीले सिमारेखा कोर्न थालेका हुन् ।
चेम्बर अफ कमर्श झापाका पुर्व अध्यक्ष तथा किराना पसल सञ्चालक सन्तोष अग्रवालको सक्रियतामा क्रेता र बिक्रेताबीचको सम्पर्कका कारण फैलने नोभल कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि नयाँ उपाय अपनाउन थालिएको हो । लकडाउनको अवस्थामा पनि खुला रहने औषधि तथा अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको पसलमा लाग्ने सेवाग्रहीको भीड कम गर्न र मानिस मानिसबीच निश्चित दूरी कायम गर्न झापामा व्यवसायीहरुले नयाँ उपाय अपनाएका छन् ।
स्थानीय प्रशासनको समन्वय र सहयोगमा झापाको विर्तामोडमा त्यस्ता पसलमा आउने ग्राहकबीच अब एक मिटरभन्दा बढीको दूरीमा भूइँमा निर्माण गरिएको गोलाकार चिन्हमा उभिएर आवश्यक सामग्रीको अर्डर गर्नुपर्ने छ । ग्राहकको अर्डर बमोजिम ब्यवसायीले पालैपालो त्यही गोलाकार चिन्हभित्र उभिएका ग्राहकलाई सामग्री उपलब्ध गराउन थालेका छन् ।
चेम्बर अफ कमर्स झापाको अग्रसरतामा अपनाइएको उक्त उपाय प्रभावकारी हुने देखिएको अग्रवालले बताए । उनले यो उपाय सबै अत्यावश्यक व्यवसायका सबै प्रतिष्ठानले अवलम्बन गरे कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने दावी गरे ।