मोरङ / गत वैशाख ५ र ६ गते उदयपुरबाट कोभिड–१९ अस्पताल विराटनगर ल्याइएको १३ जना कोरोना संक्रमित मध्ये ६ जना भारतीयलाई डिस्चार्ज गरिने भएको छ । तीन पटकसम्म उनीहरुको थ्रोट स्वाव परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आए पछि डिस्चार्ज गरि १४ दिनसमम क्वारेन्टाइनमा राख्ने तयारी भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए ।
कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ३१ जना छन् । ती मध्य ६ डिस्चार्ज हुने मन्त्रालयले आज पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । ३१ मध्य दुई जना झापा, एक जना भोजपुर र बाँकी सबै उदयपुरबाट ल्याइएको हो ।
३० वर्षीय, २९ वर्षीय, २८ वर्षीय, २१ वर्षीय, ३४ वर्षीय र २६ वर्षीयलाई डिस्चार्ज गर्न लागिएको हो । उनीहरुलाई विराटनगरस्थित रानीमा रहेको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिने मन्त्री घिमिरेले जानकारी दिए । अस्पतालमा उपचाररत अन्यको पनि अवस्था सामान्य रहेको कोशी अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले जानकारी दिएकी छन् ।