पाँचथर/ जिल्लास्थित विभिन्न विद्यालय र क्याम्पसहरूमा व्यवस्थापन गरिएका क्वारेण्टिनस्थलहरूलाई क्रमशः हटाउँदै लगिने भएको छ । त्यसका लागि आवश्यकताका आधारमा वैकल्पिक क्वारेण्टिनस्थलको खोजी गर्न जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले स्थानीय तहहरूलाई भनेको छ ।

केन्द्रको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । १ भदौदेखि विद्यालय र क्याम्पसहरू खुलाउने सरकारले गरेको निर्णयलाई मध्यनजर गरी यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले बताए । भारत र तेस्रो मुलुकबाट नेपाल आई जिल्ला भित्रिने व्यक्तिहरूको हकमा भने क्वारेण्टिनमा राखी पीसीआर टेष्ट गरेर रिपोर्ट नेगेटिभ आएपछि मात्र होम क्वारेण्टिनमा बस्ने गरी घर पठाउने व्यवस्थालाई निरन्तरता दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कोरोना सङ्क्रमित सबैजना उपचारपछि निको भएर घर फर्केपछि पाँचथर केही दिनअघि कोरोनामुक्त बनेको हो । जिल्लामा त्यसयता हालसम्म कुनै व्यक्तिमा पनि कोरोना सङ्क्रमण नभेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा हालसम्म ७ सय ८५ जनाको पीसीआर र दुई हजार २ सय ८ जनाको आरडिटी गरिएको कार्यालयले जनाएको छ ।