विजयपुर । धरान–२० बिष्णुपादुका स्थित भालढुङ्गा सामुदायिक वनको काँचो सखुवाको रुख कटान प्रकरणमा पक्राउ परेका ४ जना वडा नं. १९ का अध्यक्ष पुर्णबहादुर लिम्बूको रोहबरमा रिहा भएका छन ।
वडाअध्यक्ष लिम्बुले ४ जनालाई वन कार्यालयले चाहेको समयमा हाजिर गराउने भनि हस्ताक्षरा गरि जिम्मा लिएको सव–डिभिजन कार्यालय धरानका प्रमुख तथा अनुसान्धान अधिकृत राजेन्द्र प्रसाद यादवले जानकारी दिए । उनले भने, ‘छोड्न मिल्दैन थियो तर अध्यक्षले आवश्यक पर्दा हाजिर गराउँछु भनेपछि छोडियो ।’ उनले थपे, ‘आवश्यक पर्दा हाजिर गराउन नसके त्यसको भागिदार अध्यक्ष आफै हुने वताएपछि छोडिएको छ ।’ यता वडा नं. १९ का अध्यक्ष लिम्बू भने वयान सकिएपछि वन कार्यालयले राख्न नमिल्ने रहेछ त्यसैले जिम्मा लिएर आएको बताउँछन ।
धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईको निर्देशनमा सो सामुदायिक वनको काँचो सखुवाको रुख कटान गरिएको आरोप लाग्दै आएको छ । उनीहरु कामदार भएर काट्न गएको बताइएको छ । काट्न गएकालाई पहिलो चरणमा अनुसन्धान गरिएको यादवले जानकारी दिएका छन । सखुवाको रुख कटान गर्न गएको आरोपमा धरान–१९ का ४ जनालाई कार्यालयले विहिबार पक्राउ गरेको थियो । वन कार्यालयले शेरबहादुर तामाङ, गजेन्द्र लिम्बू, रामबहादुर तामाङ र राम प्रसाद मगरलाई पक्राउ गरेको थियो ।
वन समुहका अध्यक्ष बुद्धि तामाङले धरान उपमहानगरपालिकाका मेयर तिलक राईको निर्देशन र वन समुहका कोषाध्यक्ष भीम बस्नेतको उपस्थितिमा रुख काट्न गएका ६ जनाको नाममा वन कार्यालयमा उजुरी दिएका थिए । ६ जनाको नाममा उजुरी दिएपनि वन कार्यालयले ४ जनालाई मात्र पक्राउ थियो । वन कार्यालय प्रमुखका अनुसार पहिलो चरणको वयान सकिएको छ ।
