भद्रपुर/ जिल्लामा कोरोना सङ्क्रमणको दर उच्च रहेका बेला कोरोना परीक्षणमा सहयोग पुर्याउने उद्देश्यले रोटरी क्लबले अस्पताललाई पीसीआर मेसिन प्रदान गरेको छ ।
रोटरी क्लब अफ बिर्तामोडको अगुवाइमा मेची प्रादेशिक अस्पताल भद्रपुरलाई एक थान पीसीआर मेसिन प्रदान गरेको हो ।
रोटरी क्लबका रिजन ७ मा रहेका क्लहरुद्वारा संयुक्त रुपमा मेसिन प्रदान गरिएको थियो । मेची प्रादेशिक अस्पताल भद्रपुरका प्रमुख सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डिस्ट्रिक सेक्रेटरी सुशील रिजाल, एजी सपना रिजाल, नवीन कुमार श्रेष्ठ, रोटरी क्लव बिर्तामोडका अध्यक्ष निर्मल भट्टराई, बिर्तामोड मिडटाउनका प्रशान्त भण्डारी लगायतले संयुक्त रुपमा उक्त मेसिन प्रशासनलाई प्रदान गरेका थिए ।
रोटरी क्लवका डिस्ट्रिक सेक्रेटरी रिजाल रोटरीले सातै प्रदेशमा एक एक थान मेसिन प्रदान गर्ने कार्यक्रम रहेको बताए । अस्पताललाई प्रदान गरिएको मेसिनको अनुमानित १२ लाख रहेको जनाए । अस्पतालका सञ्चालक समिति अध्यक्ष समेत रहेका पोर्तेलले रोटरीले प्रदान गरेको मेसिनले अस्पताललाई कोरोना परीक्षणमा थप सहज हुने बताएका छन् । स्वीस सरकारको सहयोगमा यस अघि मेची प्रदेशिक अस्पतालमा एउटा र जनस्तरबाट कोटिहोममा अर्काे पीसीआर मेसिन रहेको उनले बताए ।