बेलबारी । सुन्दरहरैचा नगरपालिका क्षेत्रका सार्वजनिक र संस्थागत विद्यालयहरु आइतबार देखि खुल्ने भएका छन् ।
सरकारले कोभिड–१९ संक्रमणको जोखिम नभएका अथवा कम भएका स्थानीय तहमा विद्यालय सञ्चालन गर्न पाउने गरी ‘विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा–२०७७’ जारी गरेपछि आइतबार देखि विद्यालय खुल्ने भएक हुन् । नगरपालिका शिक्षा शाखाले गत सोमबार सार्वजनिक र संस्थागत विद्यालयहरुका प्रधानाध्यापकहरुको भेला गराई विद्यालय सञ्चालन सम्बन्धी छलफल गरको थियो ।
विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७ अन्तरगत रहेका विकल्पहरु मध्ये आफ्नो विद्यार्थीको संङ्ख्या र उपलब्ध भौतिक पूर्वाधार व्यवस्थापनमा सहज हुने गरी विकल्प रोजेर सञ्चालन गर्न शिक्षा शाखाले निर्देशन गरेको शिक्षा शाखा प्रमुख लिला देवी ओझाले बताइन ।
शिक्षा शाखा प्रमुख ओझाका अनुसार माध्यामिक तह भएका विधालयले पहिलो चरण (हप्ता दिन) कक्षा ६ देखि १२ सम्म र दोश्रो चरणमा कक्षा ६ देखि तलको कक्षालाई अध्यापन गराउनुपर्ने छ । साथै विधालयले विधार्थीको संख्या हेरेर एउटा ब्रेन्चमा एक जना विधार्थी र बढिमा दुई जना विद्यार्थी राखेर मात्र अध्यापन गराउनु पर्ने छ ।