धरान । कोरोना महामारीका कारण विद्यालयहरु लामो समयदेखि बन्द छन् । विद्यालयहरु नै बन्द भएपछि विद्यालयका गाडीहरु चल्ने कुरै भएन ।
तर धरानका निजी विद्यालयहरुले भने यहि बन्दका बेला पनि अभिभावकहरुसँग यातायात, खेलकुद, कम्प्युटर, ल्याबलगायत विभिन्न शिर्षकमा शुल्क असुल गरिरहेको भन्दै नेकपा निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले विरोध जनाएको छ ।
अनेरास्ववियुको धरान नगर कमिटीले शुक्रबार धरान उपमहानगरपालिकाका मेयर तिलक राई र उपमेयर मञ्जु भन्डारीलाई यसविषयमा ध्यानाकर्षण गराउँदै पत्र बुझाएको छ ।
अनेरास्ववियुले धरानका निजी विद्यालयहरुले अभिभावकहरुलाई डरत्रास देखाएर शुल्क बुझाउन दबाब दिएकोमा आपत्ती जनाएको छ ।
साविक अनेरास्ववियुका कार्यबाहक अध्यक्ष सौरव खड्का र साविक अखिल क्रान्तिकारीका अध्यक्ष घनश्याम थेवेद्वारा जारी विज्ञप्तीमा उपमहानगरपालिकाको शिक्षा शाखा भएपनि यस्तो वेथिती देखिनु आपत्तिजनक भएको उल्लेख गरिएको छ ।
अनेरास्ववियूले यस विषयमा उपमहानगरपालिकाले ध्यान दिनुपर्ने उल्लेख गरेको छ ।