नेपालमा सञ्चार क्षेत्रको प्राज्ञिक अभ्यास र अनुसन्धान नौलो नभए पनि त्यति धेरै अघि बढ्न सकेको छैन । सञ्चार, आमसञ्चार तथा पत्रकारिताजस्ता सामाजिक विज्ञान विषयमा स्तरीय प्राज्ञिक अनुसन्धान हुन सकेको छैन । भएका प्राज्ञिक अनुसन्धान पनि अन्यन्तै न्यून छन् ।

हिजोआज पत्रकारिता शिक्षा फराकिलो बनिसकेको छ । तर, पत्रकारिता शिक्षाको लागि आवश्यक पाठ्यसामग्री, शिक्षण सामग्री र सञ्चार अनुसन्धान अझै पनि हुन सकिरहेको छैन । यसैगरी नेपालमा पत्रकारिता विषय अध्ययनका लागि आवश्यक पुस्तकहरु पनि पर्याप्त र स्तरीय उपलब्ध छैनन् । वि.सं. ०३० को दशकदेखि नेपालमा पत्रकारिता शिक्षा सुरु भए पनि अझै पाठ्यक्रम भने आपेक्षाकृत व्यवहारिक र अनुसन्धानमूलक बन्न सकेको छैन ।

प्रायः विद्यालयदेखि विश्वविद्यालयसम्म एकै प्रकारको पाठ्यक्रम दोहो¥याएर पढ्नुपर्ने बाध्यता भर्खर भर्खर मात्र हट्न थालेको छ । पहिले पठन–पाठन हुँदै आएका पाठ्यपुस्तकहरु पनि पत्रकारिता पढेर सक्रिय रुपले पेशा गरिरहेकाहरुले भन्दा पनि सारसङ्ग्रहबाट कनिकुथी लेखिएकाहरु हुने गर्दथे । यसैले अलग–अलग लेखकले लेखेका पुस्तकहरु पढ्दा सबै एकैखाले परिभाषा र सिद्धान्तको व्याख्यामा बढी जोड दिएका पाइन्थे । जसले पत्रकारिता विषयको गुणस्तरीय पढाइ आपेक्षा अनुसार हुन सकिरहेको थिएन ।

पत्रकारिता शिक्षामा व्यवहारिक ज्ञानको प्रचुर खाँचो छ । किनभने पत्रकारिता पेशा पढ्ने मात्र होइन, गरेर मात्र उपलब्धि हासिल गर्ने पेशा हो । पत्रकारितामा जबसम्म्म पढेको कुरा व्यवहारमा लागू गराउन सकिँदैन, तबसम्म पेशामा टिकिरहन सकिँदैन । यसैले पत्रकारितामा सैद्धान्तिकसँगै व्यवहारिक प्रयोगात्मक पढाइको खाँचो पर्दछ ।

हामी अहिले पनि क्यामेरा र पुस्तकमा पढाइरहेका छौँ, पढिरेका छौँ । अनि मिडिया हाउसको समाचार कक्ष कस्तो हुन्छ भनेर चित्र बनाएर देखाइन्छ वा मौखिक व्याख्या गरिन्छ । व्यवहारिक ज्ञानले अभावले पत्रकारिता पढेको विद्यार्र्थीले मिडिया हाउसमा काम गर्न सक्दैनन् । यो सबै नेपाली पत्रकारिता शिक्षा व्यवहारिक ज्ञानमा आधारित नभएर भएको हो ।

यही अभावलाई मध्यनजर गरेर नेपालको राष्ट्रिय मूलधारमा सक्रिय पत्रकारिता गरिरहनुभएका पत्रकारद्वय भवानीश्वर गौतम र त्रिभुवन विश्वविद्यालयका शिक्षक सुमनकुमार लुइँटेलले ‘आमसञ्चार अध्ययन’ नामक पुस्तक तयार गरेर बजारमा ल्याएका छन् । पत्रकारिता विषय पढ्ने कक्षा ११ का विद्यार्थीहरुका लागि तयार गरिएको उक्त पुस्तकमा एकदमै सटिक तरिकाले पत्रकारिताको सिद्धान्त, परिभाषा र व्यवहारिक ज्ञानहरु उल्लेख गरिएका छन् ।

अघि नै भनिए झंै पत्रकारिताको विद्यार्थीले हालसम्मको पाठ्यक्रम अनुसार कक्षा एघार, बाह्र र स्नातक पहिलो वर्षमा पनि एउटै सेरोफेरोमा रहेर अध्यन गर्नुपर्ने बाध्यता थियो । तर, एसिया पब्लिकेसन्सले बजारमा ल्याएको ‘आमसञ्चार अध्ययन’ नामको यो पुस्तक मुख्यतः कक्षा एघारमा पढ्ने विद्यार्थीहरुका लागि भए पनि पत्रकारिता विषयमा आधारभूत प्रशिक्षण दिने प्रशिक्षक, पत्रकारिता गरिरहेका पेशाकर्मी अनि पत्रकारिता बुझ्न र सिक्न चाहने जो कोहीका लागि अति उपयोगी छ ।

पाठ्यक्रम विकास केन्द्रबाट पठन–पाठनका लागि स्वीकृति पाइसकेको यो पुस्तकमा आमसञ्चारको परिचय, पत्रकारिता, समाचार, संवाददाता र समाचार सङ्कलन, अनलाइन पत्रकारिता र सामाजिक सञ्जालबारे सटिक तरिकाले लेखिएको छ । आवश्यक उदाहरण र चित्रसहित प्रकाशन गरिएको यो पुस्तकमा पत्रकारिता विषयमा विधागत रिपोर्टिङ, आलेख लेखन, खोजी रिपोर्टिङ, समाचार लेखन तथा सम्पादनबारे विषयगत ज्ञान र अभ्यासका कलाहरु पनि समेटिएको छ ।

साथै पुस्तकमा समाचार लेखनबारे प्रयोगात्मक कार्यका लागि अलग्गै कक्षा पनि समावेश गरिएको छ । यति मात्र नभएर पुस्तकमा पत्रकारिता विषयमा प्रयोग हुने भाषाका शब्दहरु अर्थ खुलाएर प्रस्तुत गरिएको छ । जसले न्युज रुम भनेको के हो, पीत पत्रकारिता भनेको के हो, टिआरपी, इम्बार्गो केलाई भनिन्छ आदि धेरै कुराहरु बुझ्न थप सहयोग मिल्दछ । पुस्तक तयार गर्दा लेखकद्वयले पाठ्यक्रमको उद्देश्य, तहगत सक्षमता र विद्यार्थीको मनोविज्ञानलाई समेत ख्याल गरेर देखाइ, लेखाइ र भोगाइहरु प्राज्ञिक एवम् पठनीय सामग्रीको रुपमा राखेकोले पुस्तक पढ्न र बुझ्न सरल छ । गुणस्तरीय कागज प्रयोग गरेर २०८ आठ पृष्ठमा प्रकाशन गरिएको यो पुस्तकको मूल्य जम्मा २६५ रुपैयाँ मात्र छ ।