भद्रपुर । नेपाल शिक्षक महासङ्घ भद्रपुर नगर समितिले नगर क्षेत्रका सबै विद्यालयले भोलि (सोमबार) एक दिन पठनपाठन स्थगित गरी शोक मनाउन आग्रह गरेका छन् ।

अग्नि दुर्घटनामा परी महिला शिक्षकको मृत्यु भएको भन्दै सबै विद्यालयले पठनपाठन स्थगित गरी शोक मनाउन महासङ्घ नगर समितिले आइतबार सूचना जारी गर्दै आग्रह गरेका हुन् ।

भद्रपुर नगरपालिका –१ हिमाली बस्ती घर भई भद्रपुर– ३ स्थित आदर्श आधारभूत विद्यालयमा कार्यरत शिक्षक बबिता श्रेष्ठको अग्नि दुर्घटनामा परी मृत्यु भएको हो । शिक्षक श्रेष्ठको उपचारको क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो ।

यो शोकमा एक दिन विद्यालयको पठनपाठन स्थगित गरी शोक मनाउन महासङ्घ नगर समितिले सबै विद्यालयलाई आग्रह गरेको नगर समितिका अध्यक्ष गणेश गिरीले जानकारी दिए ।