खाँदबारी/ संखुवासभाको सिलिचोङ गाउँपालिकामा मेवाहाङ भाषा पाठ्यक्रम सञ्चालन हुने भएको छ । उक्त पाठ्यक्रम सञ्चालनको लागि अभिमुखिकरण गोष्ठी सञ्चालन भईरहेको छ । सिलिचोङ गाउँपालिका वडा नं. २ का ३ विद्यालयमा गोष्ठी सम्पन्न भएको हो ।

गत बुधबार, बिहिबार र शुक्रबार किराँत मेवाहाङ याखोम्मा केन्द्रिय कार्य समितिको कार्यक्रम अनरुप गाउँपालिका समितिले गोष्ठी सञ्चालन गरेको थियो । बुधबार बाला मा.वि., बिहिबार जालपा आधारभूत विद्यालय शिसुवाटार र शुक्रबार बालायाम्दाङ माध्यमिक विद्यालयमा सम्पन्न भएको थियो । स्थानीय भाषाको विषय पठनपाठन गराउन पाउने सरकारको निती अनुरुप सिलिचोङको केही विद्यालयहरुमा मेवाहाङ भाषाको पाठ्यक्रम लागू हुने भएसंगै गोष्ठी सञ्चालन भईरहेको किराँत मेवाहाङ याखोम्माका सचिव नरेन्द्र मेवाहाङले जानकारी दिए ।

मेवाहाङ जातिको उद्गम थलोको रुपमा रहेको सिलिचोङ गाउँपालिको २ नं. वडाका ३ विद्यालयमा कक्षा १ को यसै शैक्षिक सत्रबाट कक्षा सञ्चालन हुने छ । सिलिचोङ गाउँपालिकाले गत बर्ष बजेट व्यवस्थापन गरेसंगै मेवाहाङ भाषाको पाठ्यक्रम निर्माण भएको थियो । कोरोना भाईरसका कारण रोकिएको अभिमुखीकरण कार्यक्रम हाल भईरहेको छ ।

आगमी दिनमा सिलिचोङ गाउँपालिकाको ३, ४ र ५ वडामा अभिमुखीकरण कार्यक्रम रहेको छ । मेवाहाङ भाषाको पाठ्यक्रम निर्माण तथा पठनपाठनले लोप हुन लागेको मेवाहाङ भाषालाई बचाउनु मात्रै नभएर राज्यमा सुचीकृत हुनको लागि समेत टेवा पुग्ने विश्वास लिईएको छ ।