विजयपुर/धरानको केके इन्टरनेसनल स्कुलले हरेक मङ्गलबार नेपाली भाषामा पढाउने भएको छ ।
स्कुलले मङ्गलबार ‘मेरो राष्ट्रभाषा मङ्गलबार’ कार्यक्रम सञ्चालन गर्दै नेपाली भाषामा पढाउने अभियान थालेको हो । अभियान अन्तर्गत प्रत्येक मङ्गलबार राष्ट्रभाषा नेपालीबाट सबै कक्षामा पढाइ हुने प्रिन्सिपल डा. त्रिदेव उपाध्यायले जानकारी दिए । विद्यार्थीहरूले मङ्गलबारका दिन राष्ट्रभाषामा बोल्ने, पढ्ने, कुराकानी गर्ने साथै विभिन्न प्रकारका क्रियाकलाप गर्ने प्रिन्सिपल उपाध्यायले जानकारी दिए ।
उनले राष्ट्रभाषाको महŒवलाई मध्यनजर गर्दै अभियान प्रारम्भ गरिएको हो । अभियानको अनलाइन उद्घाटन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका सचिव एवम् नेपाली प्रज्ञा प्रतिष्ठानका सदस्य ऋषिदेव घिमिरेले गरेका थिए भने स्कुलमा भाषाविद् प्रा.डा. टङ्क न्यौपानेले गरेका थिए । डा. न्यौपानेले प्रदेश सरकारले नेपाली भाषालाई प्राथमिकता दिने गरी स्कुलहरूमा अभियान चलाउने तयारी गरिरहँदा केकेले गरेको कार्य निकै प्रशंसनीय रहेको बताए ।
उनले नेपाली भाषाप्रति बालबालिकाहरूलाई लगाव बढाउन गरिएको यो कार्यले विद्यार्थी र शिक्षकलाई थप ऊर्जा मिल्ने बताए । निजी तथा संस्थागत विद्यालयहरूले अङ्ग्रेजी माध्यमबाट मात्रै पढाउँदा विद्यार्थीहरूले राष्ट्रभाषा नै बिर्सिने र लोप हुने खतरा बढेकाले केकेले सातामा एक दिन नेपाली भाषालाई प्राथमिकता दिएको प्रिन्सिपल उपाध्यायले जानकारी दिए ।