धरान/ एबीबीएस इन्टर्न गरिरहेका एक विद्यार्थीले होस्टेलको झ्यालढोका तोडफोड गरेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रशासनले सोमबार होस्टेलबाट निष्कासन गरेको छ ।
रक्सी सेवन गरेर आइतबार राति प्रतिष्ठानको १ नम्बर ब्वाइज होस्टेलमा तोडफोड गरेपछि विराटनगर महानगरपालिका–१३ का २६ वर्षीय रोशन यादवलाई होस्टेलमा बसेर एमबीबीएस इन्टर्न दिन नपाउने गरी निष्कासन गरेको हो ।
प्रतिष्ठानका होस्टेल वार्डेन डा.इन्द्र लिम्बूका अनुसार एमबीबीएस इन्टर्न गरिरहेका रोशनले सप्तरीको त्रिकोल गाउँपालिका–४ का २७ वर्षीय साथी केशव यादवलाई पनि होस्टेलमा राखेर मादक पदार्थ सेवन गरी १ नम्बर ब्वाइज होस्टेलका झ्याल ढोका तोडफोड गरेका थिए । होस्टेलमा रहेका अन्य विद्यार्थीलाई पनि जथाभावी बोलेर धाकधम्की दिएपछि प्रहरी बोलाउनु परेको थियो । प्रहरीले तत्काल यादव र उनका साथी केशवलाई पनि पक्राउ गरी हिरासतमा लिएको छ ।
डा. लिम्बूले भने, ‘होस्टेलमा बस्न नपाउने गरी आजै (सोमबार) देखि निष्कासनको कारबाही गरिएको छ । तर, एमबीबीएस इन्टर्नसिप भनेर अब उसले बाहिर बसेर दिनुपर्ने भएको छ ।’ प्रहरी हिरासतमा रहेका रोशनले यसअघि प्रतिष्ठानको चेक चोरी गरेको वैंकबाट रकम झिकेको र टूाफिक प्रहरीलाई फलाको रडले मरणासन्न हुने गरी कुटेको आरोपमा सार्वजनिक अपराधसम्बन्धी मुद्दा खेपिसकेका छन् ।
यसैबीच वार्डेन डा.लिम्बूले व्वाइज होस्टेलको रात्रीकालीन ड्युटीमा खट्ने गार्डलाई स्पष्टीकरण सोधेका छन् । नाम सार्वजनिक नभएका ती गार्डलाई उनी कार्यरत भिआईपी सेक्युरिटी कम्पनीले पनि स्पष्टीकरण सोधेको छ । प्रतिष्ठानको विद्यार्थी बस्ने होस्टेलमा गैरविद्यार्थी वा व्यक्ति प्रवेशमा प्रतिबन्ध गरिएको छ । गैरविद्यार्थी प्रतिबन्ध हुँदा पनि केशव यादव कसरी रोशनसँग होस्टेलमा प्रवेश गरेर मादक पदार्थ सेवन गरी तोडफोड ग¥यो ? यो प्रश्नको जवाफ वार्डेन र भिआईपी कम्पनीले ती गार्डसँग मागेको छ ।