भद्रपुर । एक महिनादेखि झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह सहित उनको  परिवारले भद्रपुर–२ स्थित सिंहदेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई नाना र खाना वितरण गरेको छ ।

विद्यालयका ६५ जना विद्यार्थीलाई जाडोमा लगाउने न्यानो लुगा र पोषिलो खानेकुरा वितरण गरिएको हो । हिमानी कोषबाट प्रदान गरिएो सो राहत वितरण गर्न हिमानी कोषकी संरक्षक पूर्व युवराज्ञी हिमानी शाह पनि सहभागी भएकी थिइन् । कार्यक्रममा पूर्व युवराज पारस शाहका छोराछोरी पनि उपस्थित थिए । सो विद्यालयका विद्यार्थीहरुलाई अब लगातार ३ वर्ष हिमानी कोषले पोषिलो खानेकुरा वितरण गर्ने जनाइएको छ । त्यस्तै कार्यक्रममा ३० जना बृद्धबृद्धालाई पनि पोषिलो खानेकुरा प्रदान गरिएको थियो । 

पूर्व राजा कार्यक्रमस्थलमा प्रवेश गर्दैगर्दा उनका समर्थकहरुले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ , जनता आऊ राजा ल्याऊ , श्री ५ महाराजाधिराजको जय होस् ’ जस्ता नारा लगाएका थिए । कार्यक्रममा अधिकांश राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 

तत्कालिन राजा स्वर्गीय महेन्द्र शाहले बस्ती बसाएको ठाउँमा पहिलो पटक पूर्व राजपरिवार पुगेपछि उनलाई स्थानीयवासीले भव्य स्वागत गरेका थिए । महिला आदर्श सेवा समितिकी अध्यक्ष राधा कार्की र झापा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज पनेरुले सो कार्यक्रमको सहजीकरण गरेका थिए । 

पूर्व राजा ज्ञानेन्द्रका पिता महेन्द्रले भारत लगायत अन्य देशमा रोजगारीमा गएका नेपाली नागरिकलाई स्वदेश फर्काउने अभियान अन्तरगत वि.सं.२०२४ सालमा गाउँ फर्क अभियान सुरु गरेका थिए ।  पूर्व राजा महेन्द्रले पुर्नवास कम्पनीमार्फत साबिक पृथ्वीनगर गाविसमा वनजङ्गल फडानी गरी त्यहाँ बस्ती बसाएका थिए । पहिलो चरणमा तीन, दुई र डेढ विगाह गरी पछिल्लो समय १० कठ्ठा जमिन उपलब्ध गराएको भन्दै अध्यक्ष पनेरुले सो क्षेत्रका बारेमा जानकारी गराएका थिए । हाल सो क्षेत्रमा ४ सय ८ घर धुरी रहेको उनले जनाए ।

 शिक्षा, स्वास्थ्य, आयआर्जन, प्राकृतिक प्रकोप र वातावरणका विषयमा हिमानी कोषले काम गरिरहेको कोषका उत्तम निरौलाले जानकारी गराएका थिए । देशभर साढे १३ सय स्वयम् सेवकबाट पोषिलो खानेकुरा, सिलाइ कटाइ मेसिन, न्यानो कपडा, लगायतका सामग्री वितरण गरिरहेको उनले बताए ।  

पूर्व राजा ज्ञानेन्द्र गत मङ्सिर २६ गतेदेखि दमकस्थित निवासमा रहेका छन् ।