मोरङ अदालतले ठगी मुद्दामा ३ महिना कैद र १ लाख ५२ हजार रुपैयाँ जरिवानाको फैसला गरेको एक जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ प्रहरीले कैद र जरिवाना तोकिएको विराटनगर महानगरपालिका १५ का २५ वर्षीय विशालकुमार रायलाई पक्राउ गरेको हो । पक्राउ परेका रायलाई मोरङ अदालत उपस्थित गराएर कैद सजायको लागि कारागार पठाइएको छ ।
ठगी मुद्दामा मोरङ अदालतले २०७५ असार १० गते १ लाख ५२ हजार रुपैयाँ जरिवाना र ३ महिना कैद तोकिएको फैसला गरेको छ । अदालतले कैद र जरिवाना तोकेपछि उनी फरार थिए ।
विशेष प्रहरी परिचालन गरेपछि रायलाई लुकीछुपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसी मानबहादुर राईले जानकारी दिए ।