हत्यामा संलग्न भएको आरोपमा नेकपा एमालेका नेता युवराज बास्कोटा पक्राउ परेका छन् ।
मोरङको पथरीशनिश्चरे नगरपालिका– १० जिरीखिम्तिका १९ वर्षीय सन्दीप भण्डारीको शंकास्पद मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा बास्कोटालाई बुधबार पक्राउ गरिएको हो ।
गत पुस १४ गते भण्डारीको पथरीशनिश्चरे नगरपालिका २ मंगलबारेस्थित युवराज बास्कोटाको घरमा मृतक अवस्थामा शव भेटिएको थियो । मृतक परिवारले २६ पुसमा ‘कर्तब्य ज्यान’ मुद्दामा नेता बास्कोटा विरूद्ध इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएका थिए ।
जाहेरीको आधारमा अनुसन्धानको लागि बास्कोटालाई नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

‘किटानी जाहेरी परेपछि अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो,’ उनले भने, ‘अहिले अनुसन्धान भइरहेको छ ।’ किटानी जाहेरी परेपछि प्रहरीले मोरङ अदालतदेखि मंगलबार पक्राउ पूर्जी जारी भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
अदालतबाट पक्राउ पूर्जी जारी भएपछि उनलाई पथरीदेखि पक्राउ गरिएको हो । पक्राउ परेका नेता बास्कोटालाई मोरङ अदालतमा म्याद थप गर्न प्रहरीले लैजाने तयारी गरेको सुरक्षा स्रोतले ब्लाष्टलाई जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजन भएपछि नेता बास्कोटालाई ओली समूहको केन्द्रीय सदस्य बनाइएको थियो । बास्कोटाको घरमा मृत अवस्थामा फेला परेका भण्डारीको शरीरमा निलडाम र कानमा पनि चोट देखिएको मृतकका आमा राधिका भण्डारीको भनाइ छ ।
उनले घटनाका आरोपीलाई पक्राउ गरी निष्पक्ष छानविन र दोषीलाई कडा कारवाही गर्न माग राख्दै आएकी थिइन् ।